मिथिलामा चौरचन पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा कोभिड–१९ को सन्त्रासबीचनै आज चौरचन पर्व मनाइदैछ ।

मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ । अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा जारी छ । पछिल्लो पटक भदौ–१ गते नै जिल्ला प्रशासन कार्यालयहरुले भदौ–१० गतेसम्मलाई निषेधाज्ञा जारी गरेका छन् । महाब्याधीको सङ्क्रमण जोखिम बढ्दै जाँदा यसलाई छल्न जारी गरिएको निषेधाज्ञाभित्रै मैथिल (मिथिलाका बासिन्दा) आफ्ना परम्पराभित्रका चाडपर्व मनाउँदै छन् ।

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा (पिरुकीया) र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलपmुल र वस्त्रआभूषण चढाइने परम्परा छ । पर्वको तयारीमा अहिले मैथिल (मिथिलाका बासिन्दा) हिन्दूहरु आफ्नो सामग्री जुटाउने तयारीमा छन् । पर्वमा घरमूली महिला दिनभरि निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । ब्रतालुले एक दिनपूर्व नै ब्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्विक भोजन गर्ने परम्परा छ ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन (चतुष्कोण यज्ञस्थल) मा दिप प्रज्वलित गर्दै घरमूली ब्रतालुले फलपूmल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर ब्रत समापन गर्ने परम्परा छ । खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य परिकार तथा केरा र मौसमअनुसारका फलपूmल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद ख्वाएपछि यो पर्व सम्पन्न गरिने परम्परा छ ।

अरिपन चामलको पिठोले रेखाङ्कित गरिन्छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्र दर्शन शास्त्रीय मान्यताले दोषपूर्ण मानिएकाले ब्रत बसेर मिष्ठान्न परिकार र फलपूmल देखाएर दोष मेटाउने प्रचलन चलेको मैथिली संस्कृतिका जानकार बताउँछन् । यो ब्रतको प्रभावले मिथ्या दोष नलाग्ने मैथिल जनविश्वास रहेको याज्ञबल्क्य लक्ष्मीनारायण बिद्यापिठ मटिहानी, महोत्तरीका साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ । गाउँघर बस्तीमा राती सानातिना बिग्याँई गर्दा छिमेकीले गाली गरेपछि चन्द्र दर्शनको दोष मेटिने विश्वास रहेको छ ।