लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । रुकुम (पूर्व), चितवन, प्युठान, उदयपुर, बाँके र मोरङका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रुकुम (पूर्व), पुथा उत्तरगंगा गाउँपालिका–१४ देवखोलाबाट करिब ५ केजी ९ सय ६५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने कालो पदार्थ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–९ खारावाङ बस्ने २१ वर्षीय थमचन्द्र रोका र सिस्ने गाउँपालिका–१ भट्टेचौर बस्ने २६ वर्षीय अमित विसी रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रोकाको साथबाट करिब ३ केजी २० ग्राम उक्त कालो पदार्थ, १ थान डिजिटल तराजु तथा विसीको साथबाट करिब २ केजी ९ सय ४५ ग्राम उक्त पदार्थ बरामद गरेको हो ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका(१८ चनौली बजारबाट बा।३ ख ७९५८ नम्बरको मिनीट्रकमा लुकाई छिपाई ल्याएको करिब ४५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही मिनीट्रकका चालक धादिङ धाक्रे गाउँपालिका(३ बस्ने २४ वर्षीय ईन्द्र बहादुर तामाङ र सहचालक सोही ठाउँ बस्ने २१ वर्षीय दोर्जे तामाङ रहेका छन् ।  ईलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकभित्र लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला परेको हो ।

यसैगरी प्युठानको सरूमारानी गाउँपालिका(३ कासकोट बस्ने ६२ वर्षीय तोमे बहादुर सामतलाई २१ केजी ८ सय ६० ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

यसैगरी उदयपुरको बेलका नगरपालिका–८ बस्ने ४९ बर्षीय भुपाल राई सहित ३ जनालाई अन्दाजी ७ केजी लागूऔषध गाँजा र नगद ३३ हजार रुपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा तथा नगद सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–११ सुनार मन्डीस्थित सुनचाँदी पसलबाट अन्दाजी ५ ग्राम ३ सय मिलिग्राम लागूऔषध ब्राउनसुगर र नगद ३३ हजार रुपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँमा सुनचाँदी पसल गरी बस्ने २८ बर्षीय ईन्पियाज खान र ३० बर्षीय सोनु खान रहेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा पैसा राख्ने घर्रामा लुकाई छिपाई राखेको उक्त लागूऔषध तथा नगद फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी मोरङको जहदा गाउँपालिका–३ हातीबंदाबाट १४ केजी लागूऔषध गाँजा शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका को१८ प २६१९ नम्बर र बिआर ३८ आर ९४४० नम्बरका २ मोटरसाइकलमा सवार अपरिचित व्यक्तिहरूले मोटरसाइकल र झोला छाडी फरार भएपश्चात प्रहरीले तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।