समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न कठिन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिए नियन्त्रण गर्न कठिन हुने जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा आइतबार प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौंमा केही दिनयता संक्रमणदर बढ्दै गएको हुँदा त्यसतर्फ सचेत हुन आग्रह गरे ।

उनले काठमाडौंमा धेरै जनसंख्या भएकाले समुदायस्तरमा फैलिए नियन्त्रण गर्न कठिन हुने बताए । ‘काठमाडौंमा बढिरहेको संक्रमितको संख्याले हामीलाई चिन्तित बनाएको छ,’ उनले भने, ‘उपत्यकाको जनसंख्या झन्डै ५० लाख छ । यहाँ संक्रमण समुदायस्तरमा पुग्यो भने कन्ट्रोल गर्न धेरै कठिन हुनेवाला छ ।’

जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले गर्दै आएको अनुरोध पालना नभएकाले पनि काठमाडौंमा संक्रमण बढेको बताए ।  उनले राजनीतिक दल, संघसंस्थालाई भेला, जुलुस नगर्न सचेत गराए पनि त्यो राम्रोसँग पालना नभएको उल्लेख गरे । अत्यावश्यक नभई घरबाट ननिस्कने, दूरी कायम नगरेको, मास्कको प्रयोग, हात धुने नियम सबैलाई पालना गर्न समेत उनले आग्रह गरे ।

काठमाडौं उपत्यकामा आज मात्रै थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना गरी जम्मा १६६ जना संक्रमित थपिएका हुन् । यसअघि शनिबार काठमाडौँ उपत्यकामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका १६० जना, ललितपुरका ६ र भक्तपुरका ५० जना थिए ।

काठमाडौं उपत्यकामा हालसम्म ३ हजार ९६ जनामा कोभिड १९ संक्रमण देखिएको छ।  काठमाडौमा २ हजार ४ सय ५३, ललितपुरमा ३ सय ९९ र भक्तपुरमा २ सय ४४ संक्रमित रहेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।