नेपाली सेनाका १७ जनामा कोरोना संक्रमण

लमजुङ । लमजुङमा १७ नेपाली सेनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङसँगै थप १७ जनामा संक्रमण देखिएको हो ।

लमजुङमै संक्रमण देखिएका अर्का व्यक्ति त्यहाँको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै बेसीसहर–८ का अन्य दुई जनामा पनि संक्रमण देखिएको छ ।  यता पोखरामा स्वास्थ्यकर्मीमा संक्रमण देखिने क्रम जारी छ । पोखरा महानगरपालिका–११ मा स्थित साई अर्चना अस्पतालमा कार्यरत ४६ वर्षीय स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। विनोदविन्दु शर्माले पुष्टि गरेका छन् ।

यसअघि यहाँको गण्डकी अस्पताल,कास्की सेवा अस्पताल, मनाङ र बागलुङका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो । कास्कीको मादी गाउँपालिकाका अर्का ३९ वर्षीय पुरुष भने दुबईबाट आएका हुन् । नवलपरासीको गैंडाकोटकी ४० वर्षीया महिला पनि संक्रमित हुँदा गण्डकीमा थप २३ जना संक्रमित बढेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या १९३६ र निको हुनेहरुको संख्या एक हजार ६४३ पुगेको छ ।