कांग्रेसमा सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्छ : कोषाध्यक्ष यादव

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीभित्र सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताए ।

सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आज आयोजना गरेको ‘नेपाली कांग्रेसको पुनःजागरण अभियान वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधरित सङ्गठन’ विषयक प्रदेश–२ का काँग्रेस नेतासँग गरेको भर्चुअल अन्तक्र्रियामा उनले आउँदो महाधिवेशनमा सर्वसम्मत रुपमा काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्ने बताए । “गुटउपगुटको अन्त्य र नेतृत्व परिवर्तन नभएसम्म काँग्रेस बलियो हुन सक्दैन”, उनले बताए ।

कोषाध्यक्ष यादवले पार्टीबाट निर्माण गरिएको विधान पालना नहुँदा काँग्रेस झन् कमजोर हुँदै गएको उल्लेख गरे । क्रियाशील सदस्यता वितरणमा अनियमितता हुँदा पार्टी झन् धरासयी बन्दै गएको उनको भनाइ छ । कोषाध्यक्ष यादवले जागरुक भएर सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीभित्र सङ्घर्ष, योगदान र जेलनेल भोगेका व्यक्ति पाखा लगाउँदै जाँदा काँग्रेस कमजोर हुँदै गएको बताए । “जेल गएका व्यक्ति, शहीद परिवार, सङ्घर्ष, योगदान गरेका व्यक्तिलाई महाधिवेशन प्रतिनिधि बनाएर नल्याएसम्म काँग्रेस बलियो हुँदैन”, उनले बताए । प्रदेश सरकारले थारू समुदायलाई मन्त्रिमण्डलमा समावेश गर्न नसक्नु दुःखद कुरा भएको उनले बताए ।

केन्द्रीय सदस्य रामकृष्ण यादवले पार्टीभित्र दुःख गरेका व्यक्तिलाई बाइपास गर्दा तराईमा काँग्रेस कमजोर हुँदै गएको बताए । “हरेक राजनीतिक आन्दोलनको नेतृत्व र संविधान निर्माणको नेतृत्व गरेको काँग्रेस निर्वाचनमा किन हा¥यो, यसको बारेमा समीक्षा गर्नुपर्ने बेला आएको छ”, उनले भने ।