प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

सिन्धुपाल्चोकवासीलाई सुरक्षित स्थानमा स्थायी आवास बनाएर स्थानान्तरण गर्नेबारे छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।  सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवम् अस्थायी बसोबासको प्रबन्धबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

भेटमा सभामुख सापकोटाले जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरुको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयहरु उल्लेख गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सम्बन्धित कार्यहरु यथाशीघ्र अघि बढाइने बताएको न्यौपानेले जानकारी दिए ।