आजको मौसम : विभिन्न ५ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ५ प्रदेशमा सामान्य वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ । आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश तथा राति गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । भारी वर्षासँगै बाढी पहिरो र डुबानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।