काभ्रेमा थप कोरोना संक्रमित देखिएपछि चार सरकारी कार्यालयको सेवा बन्द

काभ्रे । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् ।

कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशवप्रसाद पुडासैनीले बताए । उनले ती कर्मचारीसँग सम्पर्कमा रहेका सबैलाई सतर्क रही कोरोना भाइरस परीक्षण गराउन अपिल गरेका छन् ।

उनले भने, ‘कार्यालयका हामी सबैले आइतबार नै परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो, सङ्क्रमित कर्मचारी कर फाँटमा कार्यरत रहेकाले उहाँसँग सम्पर्कमा रहनुभएका अन्यलाई पनि तत्कालै परीक्षण गर्न आग्रह गरेका छौँ ।’

यस्तै कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सदरमुकाम धुलिखेलस्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वन एकाइ (भवन), राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखा र धुलिखेलस्थित काभ्रेभञ्ज्याङ स्वास्थ्य चौकी अनिश्चितकालका लागि बन्द गरिएका हुन् । बैंकले भने एक जना कर्मचारीमा सङ्क्रमण देखिएकाले धुलिखेल शाखाका सबै कर्मचारीको पिसीआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि कार्यालय बन्द गरिएको जनाएको छ ।