कोरोना संक्रमितको निःशुल्क उपचार

चितवन । जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार चितवनको भरतपुर अस्पताल र दुई निजी मेडिकल कलेजलाई कोरोना उपचारका लागि जिम्मेवारी तोकिएको छ । उनले भने, “तोकिएका अस्पतालहरुमा गरिएको कोरोना संक्रमितको उपचार खर्च सरकारले बेहोर्छ ।”

सामान्य लक्षण देखिएका र लक्षण नदेखिएका संक्रमितको एक दिनको प्रति व्यक्ति तीन हजार ५००, पूर्ण लक्षण देखिएका बिरामीको रु सात हजार र सघन उपचार कक्षमा उपचार गर्नुपर्नेको रु १५ हजार सरकारले सम्बन्धित अस्पताललाई दिने उनले जानकारी दिए ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा.हरिशचन्द्र न्यौपानेले सरकारले संक्रमितको उपचार खर्च व्यहोर्ने भएपछि सम्बन्धित बिरामी र परिवारले कुनै रकम तिर्नु नपर्ने जानकारी दिए । न्यौपानेले संक्रमित हुनुभन्दा अघिको उपचार खर्च भने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने बताए । आज चितवन मेडिकल कलेजमा १०३ कोरोना संक्रमित उपचाररत छन् ।

पुरानो मेडिकल कलेजका निर्देशक डा.मनोहर प्रधानले मन्त्रालयले खर्च बेहोर्ने जानकारी पाएसँगै बिरामीका आफन्तसँग कुनै पनि रकम नलिएको बताए । मन्त्रालयले पत्र पठाइनसकेको भए पनि प्रमुख जिल्ला अधिकारीले यस विषयमा जानकारी गराएपछि आफूहरुले संक्रमितको उपचार निःशुल्क गरेको उनको भनाइ छ ।

सो मेडिकल कलेजमा आज ५३ जना संक्रमित उपचाररत छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले गत महिनासम्म सरकारी अस्पतालले मात्र उपचार गरिरहेकामा अहिले निजी मेडिकल कलेजहरुलाई पनि उपचारको जिम्मा दिइएको बताए । भरतपुर अस्पतालमा अहिले ६४ जना संक्रमित उपचाररत छन् । शुरुदेखि नै सरकारी अस्पतालले संक्रमितको उपचार निःशुल्क गर्दै आएको उनले जानकारी दिए ।