नुहाउन गएका चालक बेपत्ता

खोटाङ– महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन् ।

बुढाथोकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको साप्सु दोभानबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए। बुढाथोकी बालुवा लिनका लागि नदीमा पुगेको समयमा नुहाउने क्रममा चिप्लिएर बेपत्ता भएको जानकारी आएको प्रहरीले जनाएको छ ।बेपत्ता बुढाथोकीको खोजीका लागि प्रहरी चौकी भण्डारेघाटका प्रहरी टोली परिचालन गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताए ।