कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको कोरोना सं‌क्रमणका कारण आइतबार मृत्यु भएको छ ।

ज्वरो र सास फेर्न कठिनाइ भएपछि गत भदौ २२ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना भएका उनको आइतबार बिहान ८ बजेतिर मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।

अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरी प्रयोगशाला पठाइएकामा भदौ २४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी उच्च रक्तचापका बिरामी थिए । योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।