सुन चोरेर भागेका ३ जना पक्राउ

काठमाडौं । काभ्रेको धुलिखेमा सुन चोरेर भागेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धुलिखेल नगरपालिका–७ स्थित सूर्यप्रसाद देवजुको घरमा ताल्चा फोडेर चोरी गर्नेहरुलाई जिप्रका काभ्रेको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएका हेम बहादुर तामाङ, कर्म तामाङ उर्फ कर्मा र बेल बहादुर नकर्मी उर्फ राजकुमार छन् ।​

देवजुको घरमा बस्ने होमबहादुर राउत र रन्जन रेग्मीको डेराको ताल्चा फोडेर उनीहरुले १ तोलाको सिक्री, १ तोलाको झुम्का, १ तोलाको छड्के तिलहरी र सिरबन्दी लगायतका गहना चोरेका थिए ।

चोरीमा संलग्न आरोपीहरुलाई काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोक बाट पक्राउ गरिएको हो । उनीहरुविरुद्ध चोरी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले बताए ।

ज्याला, मजदुरी गर्ने पारिवारीक पृष्ठभूमिका आरोपीहरुले धनाढ्य जीवनशैलीको मोहका लागी चोरी गरेको प्रहरीलाई बताएका छन् । चोरीमा संलग्न ३ जना आरोपी ५ बर्ष जेल बसेर निस्केका हुन् ।