लकडाउनबारे छलफल गर्न उपत्यकाका सिडिओहरुको बैठक बस्दै

काठमाडौं । उपत्यकामा कोरोना भाईरसको संक्रमण तीब्र रुपमा बढ्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बूने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी(सिडिओ)हरुलाई दिएपछि बैठक बस्ने र कस्तो प्रारुपमा लकडाउन गर्ने वा नगर्ने निर्णय लिईने बताइएको छ ।

मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका हुन् । सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । उनले भने, ‘संक्रमणको दर बढेको हुनाले मन्त्रालयसँग समन्वय गरेर कसरी अघि बढ्ने भन्ने निर्णय लिन्छौं ।’

यसअघिका वर्षहरुमा २ पटक लकडाउन गरिसकेको नेपालमा फेरि लकडाउन भएमा आर्थिक अवस्थामा जटलिता आउने भन्दै अर्थमन्त्रीले अब लकडाउन हुन्न भन्ने धारणा व्यक्त भएको भोलिपल्टै आज सिडिओहरुको बैठक बस्न लागेको छ ।