नेविसंघद्वारा त्रिविलाई १५ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न शैक्षिक मुद्दाहरु सुनुवाइको माग गर्दै त्रिभुवन विश्‍वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघ त्रिवि समितिकी अध्यक्ष सम्झना केसीको नेतृत्वमा गएको नेविसंघको टोलीले मंगलबार त्रिविका पदाधिकारीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा कोरोना भाइरसका कारण अन्योलमा परेका सम्पूर्ण परीक्षाहरुको स्वरुप परिवर्तन गरेर कार्यतालिका यथाशीघ्र प्रकाशित गर्नुपर्ने, आफूहरुलाई झुठा मुद्दा लगाएर सात दिनसम्म थुनामा राख्नुको कारण स्पष्ट रुपमा खुलाएर आममाफी माग्नुपर्ने, विश्वविद्यालयमा नेपाल प्रहरीको प्रवेशमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने मागहरु अघि सारिएको छ ।

यस्तै विश्वविद्यालयमा भएका सम्पूर्ण अवैधानिक नियुक्तिहरु खारेज गर्नुपर्ने, सम्झौता अवधि समाप्त भएका विश्वविद्यालय परिसरमा रहेका निजी तथा सरकारी संस्थाहरुले भोगचलन गर्दै आएको जमिन विश्वाविद्यालयलाई हस्तान्तरण गर्नुपर्ने पनि नेविसंघले माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयमा नेपाल विधार्थी संघले लामो समय देखि विधार्थिको भविष्य सुनिश्चितताका लागि विभिन्न तरिकाले आवाज उठाउदै आएको छ। आज पनि ने वि संघ केन्द्रिय क्याम्पस समितिले उपकुलपतिको कार्यालय अगाडि नाराबाजी सहित जुलुस निकाले र अन्तमा ज्ञापन पत्र बुझाए ।

कोभिड–१९ का कारण विश्वको शिक्षा आयामले फरक रुप लिए पनि देशको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालयले विद्यार्थीको भविष्यका बारेमा चिन्ता नदेखाएका कारण नेविसंघले ज्ञापनपत्रमार्फत विभिन्न मागहरु गरेको विद्यार्थी नेता श्यामराज ओझाले बताए । ज्ञापनपत्र बुझाउनुअघि नेविसंघले त्रिवि अगाडि प्रदर्शन गरेको थियो ।