इलाम नगरसभाद्वारा महत्वपूर्ण छवटा ऐन पारित

इलाम (पास)– विभिन्न छवटा ऐन पारित गर्दै इलाम नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ ।

सभाले ‘इलाम नगरपालिका सहकारी ऐन २०७४’, ‘इलाम नगरपालिका नगर प्रशासकीय ऐन २०७४’, ‘इलाम नगरपालिका नगर कर्मचारी ऐन २०७४’, ‘इलाम नगरपालिका कृषि व्यावसाय ऐन २०७४’, ‘इलाम नगरपालिका बजार अनुगमन ऐन २०७४’ र ‘इलाम नगरपालिका न्यायिक समिति ऐन २०७४’ पारित गरेको हो ।

नगरसभाबाट पारित ऐन एकसाताभित्र प्रमाणीकरण गरेर इलाम नगरपालिकाको राजपत्र प्रकाशित गर्ने निर्णय गरेको नगरप्रमुख महेश बस्नेतले जानकारी दिए ।

तीन दिनसम्म चलेको नगरसभा सम्पन्नबारे आज पत्रकार सम्मेलन गरी नगरसभाले रु ७१ करोड ९३ लाख २१ हजारको बजेट स्वीकृत गरेको जानकारी दियो ।

नगरसभाले स्थानीय जनप्रतिनिधिको मर्यादाक्रम पुनःविचार गर्न, इलाम नगरपालिका–९ भञ्ज्याङदेखि इलाम नगरपालिका ११ को सोयाक बेलासे–दानाबारी हुँदै बिर्तामोडसम्मको सडकलाई द्रुतमार्गका रुपमा विकास गर्ने बजेट तथा कार्यक्रम समावेश गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ ।

नगरसभाले इलाम अस्पतालमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गर्न माग गर्दै इलाम सदरमुकाम स्थापनाको दुई सय वर्षको अवसरमा आयोजना गरिने कार्यक्रलाई सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ ।