राष्ट्रपति भण्डारीद्वारा शपथ, उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने

काठमाडौँ (पास)– नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सो अवसरमा नेपाली सेनाको एक ब्यान्डले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

शपथलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिसमक्ष बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा मन्त्रीगण, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु र सामाजिक जीवनका लब्ध प्रतिष्ठित महानुभावहरु सहभागी थिए ।

त्यसैगरी निर्वाचन आयोगले उपराष्ट्रपतिको निवाचन चैत ९ गते गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षता आज बसेको बैठकले उपराष्ट्रपतिको निर्वाचन सोे मितिमा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगका अनुसार चैत ९ गते शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार, चैत १ गते मतदाता नामावली प्रकाशन, चैत ३ गते उम्मेदवारी दर्ता तथा चैत ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने कानूनी व्यवस्था छ ।

उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायका व्यक्तिलाई उम्मेदवारका रूपमा मनोनयन गर्नुपर्ने व्यवस्था छ ।

फागुन २९ गते सम्पन्न राष्ट्रपति निर्वाचनबाट नेपालको राष्ट्रपतिमा खस आर्य समुदायका महिला श्रीमती विद्यादेवी भण्डारी निर्वाचित भइसक्नु भएको छ ।

उपराष्ट्रपति पदका लागि सोही लिङ्ग वा समुदाय भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्न गराउन पाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले उपराष्ट्रपतिको निर्वाचन तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न तयारी शुरु गरिसकेको जनाएको छ ।