झापामा उत्साहका साथ निर्वाचनको तयारी

हरि लामिछाने, झापा– यही मंसिर २१ गते हुने निर्वाचनको अन्तिम तयारीमा खटिएका निर्वाचन अधिकारी, निर्वाचनमा होमिएका राजनीतिक दलका नेता तथा कार्यकर्ता र मतदातामा उत्साह देखिएकोे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले निर्वाचन कार्यतालिकाअनुसार सबै तयारीलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ भने उम्मेदवारले आफ्ना चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् ।
त्यसैगरी संविधानसभाबाट जारी संविधानको कार्यान्वयनको मुख्य प्रस्थानविन्दुका रूपमा लिइएको प्रदेशसभा र प्रतिनिधिसभाका लागि मतदान गर्न यहा“का मतदाता पनि मंसिर २१ गतेको पर्खाइमा छन् ।
झापामा प्रतिनिधिसभाका लागि पाँच निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका ७० जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको दोब्बर हुने प्रदेशसभा सदस्यका लागि ८० जनाको उम्मेदवारी परेको छ । झापा क्षेत्र नं १ मा वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा सुरेन्द्रकुमार कार्की र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेस उम्मेदवार विश्वप्रकाश शर्माबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
दुवै नेताले आ–आफ्ना पार्टी र आमजनतामा बौद्धिक छवि बनाएको र जनताका घरदैलोमा भद्रता प्रस्तुत गरेकाले प्रनिनिधिसभा सदस्यका लागि यो क्षेत्रले राष्ट्रिय चर्चा पाएको छ । प्रतिनिधिसभा सदस्यका लागि यहाँ २३ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसका तर्फबाट उद्धव थापा र वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (एमाले)का पवित्रा निरौलाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस जिल्लाको क्षेत्र नं ३ मा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र वाम गठबन्धनको साथ पाएको भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देल मैदानमा छन् । यहाँबाट प्रनिनिधिसभामा १२ जनाको उम्मेदवारी परेको छ । काँग्रेसका चर्चित नेता सिटौलाका कारण यो क्षेत्र राष्ट्रिय चर्चामा छ ।
क्षेत्र नं ४ बाट नेपाली काँग्रेसले देउकुमार थेवे र नेकपा (एमाले)का लालप्रसाद लिम्बूको प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरूसहित १३ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । उम्मेदवारी प्रस्तुत गर्ने सबै नेताले जनताको मन जित्ने कोसिस गरिरहेका छन् ।
त्यसैगरी राष्ट्रियस्तरमा चर्चा पाएको झापा क्षेत्र नं ५ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली काँग्रेसका खगेन्द्र अधिकारीबीच प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरूसहित यस क्षेत्रमा १४ जनाको उम्मेदवारी परेको छ ।
झापाका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारीलाई अन्तिम चरणमा पु¥याइएको बताए । उनले भने, ‘मतपत्र सबै आइसकेको छ, त्यसलाई निर्वाचन क्षेत्रमा पु¥याउने काममा हामी लागिरहेका छौँ ।’
निर्वाचका लागि झापाका जनता, राजनीतिक दल एवम् निर्वाचन आयोग पनि २१ गते हुने निर्वाचनका लागि तयार भएको यहाँका मतदानको प्रतिक्रिया दिएका छ । झापा क्षेत्र नं ३ का मतदाता सिबु बुढाथोकी भन्छन्, ‘निर्वाचनको माहोल बनिसकेको छ, गर्वका साथ मेरो उम्मेदवारलाई मत हाल्छु ।’
यहाँका पाँच लाख ८५ हजार २३६ मतदाताले ६९२ मतदान केन्द्र तथा २८३ मतदानस्थलमा गएर मतदान गर्दैछन् । सबै मतदान केन्द्रलाई अत्यन्त कडा सुरक्षा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झापा जिल्ला दमक–१ का बासिन्दा, निर्वाचन क्षेत्र नं ५ का मतदाता तथा विद्यार्थी नेता सुरेन्द्र बस्नेतले निर्वाचनले झापा जिल्लाका जनता र राजनीतिक दलमा उत्साह जगाएको उल्लेख गर्दै निर्वाचन संविधान कार्यान्वयनको मुख्य प्रस्थान विन्दु भएको बताए ।
निर्वाचनको दिन नजिकिँदै जाँदा यहाँका चोक चोक राजनीतिक दलका झण्डा तथा पोस्टर तथा पम्प्लेटले रंगिएको छ । यहाँका सकडमा तुल–ब्यानर उल्लेख्य रूपमा राखिएका छन् भने राजनीतिक दलका नेताले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । दिनभर घरदैलो र सभा सकेर साँझ अबेर काँकरभिट्टास्थित निवास आइपुगेका झापा क्षेत्र नं १ का प्रत्याशी सुरेन्द्रकुमार कार्कीले आफूलाई जिताउन यहाँका जनता आतुर रहेका बताए । उनले मुलुकको पूर्वी क्षेत्रका जनतासँगै रहेर लामो समयदेखि काम गरेको दाबी गर्दै झापाको समग्र विकासका लागि आफूले जित्नैपर्ने बताए ।
त्यसैगरी घरदैलोमा निस्किएका नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले रूखमा मत हाल्दैमा काँग्रेस नहोइने भन्दै आम नागरिकलाई रूखमा मत हालेर आफूलाई विजयी गराउन आग्रह गरे । झापाका जनता आफूलाई जिताउन तयार रहेको प्रतिक्रिया दिँदै जिल्लालाई नमूना जिल्लामा परिणत गर्ने उनको प्रतिबद्धता छ ।
झापाको रेडियो सर्गम ८८.८ मेगाहर्जका प्रबन्ध निर्देशक ज्ञानेद्र निरौलाले झापा क्षेत्र १ का मतदाताहरू असंगठित भएकाले कस्ले निर्वाचनमा बाजी मार्छ भन्ने यकिन गर्न नसकिने बताए । उनले यसभन्दा अघि पनि अनपेक्षित नतिजा आउने गरेको बताए ।