पाँचथरमा नेम्वाङ र आङ्देम्बेमध्ये कसले बाजी मार्लान् ?

पाथिभरा संवाददाता, पाँचथर– पाँचथर जिल्लाको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिएका छन् ।
यी दुई बलिया उम्मेदवारबीच पहिलोपटक एउटै चुनावी मैदानमा प्रतिस्पर्धा हुन लागेको हो । यसअघि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले दुईपटक चुनाव जितेका थिए भने काँग्रेस नेता आङ्देम्बेले चारपटक चुनाव लड्दा एकपटक जितेका थिए । अहिले एउटै चुनाव क्षेत्र भएपछि उनीहरू एउटै मैदानमा चुनावमा प्रतिस्पर्धा गर्दै छन् ।
आगामी मंसिर १० मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा यी दुई प्रतिस्पर्धी दलका उम्मेदवारहरूले मतदाताका घर घरमा पुग्ने कार्यलाई तीव्ररूप दिएका छन् ।
मतदाताले भने घर घरमा आउने दलका नेता तथा उम्मेदवारसँग परिवारका सदस्यलाई जागिरदेखि लिएर पूर्वाधार निर्माण, शैक्षिक विकास र भरपर्दो स्वास्थ्य सेवासम्मका माग अघि सारेका छन् । एमालेका नेम्वाङले मुलुकमा आर्थिक समृद्धिको नेतृत्व गर्न वाम गठबन्धन बनेको बताए । सडक, विद्युत्, पुल, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विकास निर्माणका पूर्वाधारलाई उनले विकासे एजेण्डा बनाएका छन् ।
पूर्व सांसद एवं एमाले ऊर्जा विभाग सचिव नेम्वाङले जलविद्युत्को क्षेत्रमा लगानी गरेर पाँचथरका टोल टोलमा उज्यालो पु¥याउने दाबी गरेका छन् भने काँग्रेस केन्द्रीय सदस्य आङ्देम्बले जनताको सेवाकै लागि आफूले नेतृत्व लिन लागेको बताएका छन् ।
विभिन्न जातजाति आदिवासी जनजातिको भाषा, संस्कृतिको संरक्षणको जिम्मेवारी पनि आफ्नै भएकोले आफू पहिचानवादीका रूपमा परिचित हुन चाहेको उनको भनाइ छ ।
त्यसैगरी संघीय समाजवादीका उम्मेदवार प्रेमराज लावती संविधान संशोधन, शान्ति, समृद्धि, विकास, परिवर्तन र अधिकारका निम्ति आफ्नो उम्मेदवारी भएको बताउँछन् ।
यता वाम गठबन्धन दलबाट माओवादी केन्द्रका पाँचथर (क) का प्रदेशसभा सदस्य उम्मेदवार इन्द्र आङ्बो पनि अहिलेसम्मको उपलब्धि वामपन्थीको नेतृत्वमा भएकाले आर्थिक समृद्धि पनि वामपन्थीकै नेतृत्वबाट हुने दाबी गर्छन् ।
वाम गठबन्धनबाट पाँचथर (ख) का एमाले उम्मेदवार गणेश काम्बाङ पनि पाँचथरको समग्र विकासमा निष्ठापूर्वक काम गरेकाले आफूलाई जनताले निर्वाचित गराउने विश्वास व्यक्त गर्छन् ।
त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट प्रदेश (क) का काँग्रेस उम्मेदवार नरेन्द्र केरुङ लोकतन्त्रमा मात्रै कृषि, सिँचाइ, पर्यटनको विकास, आत्मसम्मान र अधिकार सम्भव हुने भन्दै पाँचथरवासीले आफूहरूलाई नै नेतृत्व प्रदान गर्ने बताउँछन् ।
काँग्रेसबाटै प्रदेश (ख) बाट उम्मेदवार बन्नुभएका सुरेन्द्र दाहाल तमोर जलाशयुक्त जलविद्युत् आयोजना निर्माणमा पहल गर्नेमा जोड दिन्छन् ।