मौन अवधिमा कुनै पनि गतिविधि गर्न मिल्दैन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मंसिर १ गते राती १२ बजेबाट आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल, उम्मेदवार र सर्वसाधारणलाई सचेत गराएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि मंसीर १ गते राति १२ बजेबाट सुरु हुने र ४८ घण्टा अघिबाट निर्वाचन प्रचार प्रसार लगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ ले निषेध गरेकाले त्यस कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै मतदान हुनुभन्दा ४८ घण्टा अघिबाट सुरु हुने मौन अवधिमा निर्वाचन आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल, तीनका उम्मेदवार लगायत सर्वसाधरणलाई सचेत गराए । मतदान केन्द्रबाट ३ सय मिटर वरीपरी कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, निर्वाचनको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेर, लगायत कार्यलाई पूर्ण रुपमा निषेध गरिएको उनले उल्लेख गरे ।

उनले निर्वाचनको आचारसंहिता प्रतिकूल हुनेगरी कुनै पनि गतिविधि गरेमा तत्काल दोषीमाथि कारबाही हुने चेतावनी समेत दिए । निर्वाचन आयुक्त भण्डारीले कुनै पनि किसिमको डर, त्रास, भय नलिई वा प्रलोभनमा नपरी मतदान गर्न आम मतदातालाई आह्वान समेत गरे ।