‘छक्का पञ्‍जा’ टिम फुट्यो ?

काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेलगायतको टिमले नेपाली चलचित्र उद्योगमा रेकर्ड ब्रेकर चलचित्र दिए । उनीहरुको टिमले चलचित्र ‘छक्का पञ्‍जा’को सिरिज निर्माण गर्यो ।

‘छक्का पञ्‍जा’ ‘छक्का पञ्‍जा–२’ र ‘छक्का पञ्‍जा–३’ तीनवटै चलचित्रले ग्रस कलेक्सनमा नेपाली बक्स अफिसमा रेकर्ड ब्रेक गरे ।

वितरकका अनुसार ‘छक्का पञ्‍जा’ले १६ करोड, ‘छक्का पञ्‍जा–२’ले १४ करोड र ‘छक्का पञ्‍जा–३’ले १९ करोड ग्रस कलेक्सन गर्यो । यो नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कलेक्सन हो । तर, यही समूहमा रहेका जितु नेपाल (मुन्द्रे) उक्त समूहबाट अब निकालिएको हल्ला बाहिरिएको छ ।

जितु नेपाल प्रस्तोता रहेको टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लबबाट ‘छक्का पञ्‍जा’ सिरिज निर्देशक दीपाश्री निरौलालाई हटाएपछि जितुलाई पनि दीपक–दीपाले आगामी चलचित्रमा नखेलाउने हल्ला बाहिर आयो । यद्यपि स्वयं उनीहरुले भने यसमा सत्यता नरहेको बताएका छन् ।

कलाकार गिरीले आजसम्म आफ्नो समूहमा रहेको कसैलाई पनि ननिकालिएको बताएका छन् । उनले भने सीताराम कट्टेल, कुञ्जना घिमिरे, निर्मल शर्मा, शिवहरि पौडेललाई पनि आफूहरुले ननिकालेको स्पष्ट पारे । “सीताराम कट्टेलजी समाजसेवामा प्रवेश गरेका कारण अब म भ्याउँदिन मलाई प्लान नगर्नुस् है दाइ भनेर जानुभएको हो ।

निर्मल शर्माजी पनि अब आफैं चलचित्र बनाउँछु भनेर हिँड्नुभयो । शिवहरि पौडेल पनि आफैं निर्देशन गर्छु भनेर सल्लाहमै आफ्नै काममा जानुभएको हो,” दीपक भन्छन्, “कुरा रह्यो जितु नेपालको उहाँलाई हामीले अब तपाईंलाई हाम्रो चलचित्रमा खेलाउँदैनौं भनेका छैनौं । भन्न आवश्यक पनि छैन । कमेडी क्लबबाट दीपाजी निकालिएपछि अब छक्का–पञ्‍जा युनिटबाट दीपक–दीपाले जितुलाई पनि निकाल्छन् भनेर अनुमानका आधारमा समाचारहहरु आए । तर त्यो सत्य होइन । हामीले न यसअघि कसैलाई निकालेका थियौं, न अहिले नै निकालेका छौं ।”

जितुको अहिले पनि दीपासँग भेट भइरहेको भन्दै दीपक जितुसँग आफूहरुको पारिवारिक सम्बन्ध रहेको बताउँछन् ।
जितु नेपाल पनि आफूलाई ‘छक्का पञ्‍जा’ टिमबाट निकालिएको बताउँछन् । आफूहरुको अहिले पनि भेट हुने गरेको तर यसबारे केही पनि कुरा नहुने गरेको उनी बताउँछन् ।

सधैं एउटै व्यक्तिसँग सहकार्य हुन्छ र हुनैपर्छ भन्ने नरहेको र समूहमा आउनेजाने क्रम जारी रहने दीपक बताउँछन् । यद्यपि यसको अर्थ जितुलाई निकालिएको हो भन्‍न नमिल्ने उनी बताउँछन् । “पहिलो कुरा त अब कम्तीमा एक वर्ष हामीले चलचित्र बनाउने सम्भावना नै छैन । अर्को कुरा चलचित्र बन्दा जितु नहुन पनि सक्छन्, हुन पनि सक्छन् ।

 

एउटामा नभएर अर्को चलचित्रमा पुनः समावेश पनि हुनसक्छन् त्यो पछिको कुरा भयो,” दीपक स्पष्ट पार्छन् । तर, आफूहरुले चलचित्र बनाउनुभन्दा अगाडि नै उनले अरुका ब्यानरमा बनेका चलचित्रमा काम गरेको अवस्थामा भने सहकार्य नहुने दीपकको भनाइ छ । ‘छक्का पञ्‍जा’ युनिटमा आबद्ध कलाकार चलचित्रसँग सम्बन्धित कुनै पनि काम गर्दा कुनमा गर्ने र कुनमा नगर्ने भन्ने विषयमा आपसमा छलफल गरेर मात्रै निर्णय गर्ने अनौपचारिक भद्र सहमति रहेको दीपक बताउँछन् ।