केपी ओलीलाई हटाएर देखाउनुस : प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले संसद पुनर्स्थापना चिन्ताको विषय नभएको बताए ।

देशको विकास रोक्न आफूलाई हटाउन खोजेको ओलीको दाबी छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वास नगरेको र विचार गरौंला भनेर पठाएको उनले सुनाए । जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दा तपाईंहरुको कुन पार्टी हो भनेर प्रश्न गरेपछि नेताहरु झसङ्ग भएको पनि ओलीले टिप्पणी गरे ।

अहिले राजीनामा गरिदिनुस् न भनेर आफूसामू हात थाप्न थालेको भन्दै प्रधानमन्त्री ओलीले अघि भने, ‘तपाईंहरुले मुद्दा लडेर (संसद) ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस् । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् ।’