एमाले बिगार्न खोज्नेहरु निस्किएर गएकाले ढुक्क छु : अध्यक्ष ओली

बाग्लुङ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताएका छन् । नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिए ।

सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने उनको भनाइ थियो । एउटै दलको शक्तिशाली सरकारले जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने उनले बताए । नेकपा एमालेले आगामी मङ्सिर चार गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने अध्यक्ष ओलीले बताए । “यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँका जनताका समस्या एमालेले बुझ्ने छ”, अध्यक्ष ओलीले भने ।

उनले एमाले पार्टी एक ढिक्का भएको बताए । कुनै गुट उपगुट एमालेमा नरहेको भन्दै उनले पार्टी बिगार्न लागेकाहरु बाहिरिएपछि ढुक्क भएको टिप्पणी गरे । अध्यक्ष ओलीले मङ्सिर चार गतेपछि बन्ने एमाले सरकारले गुमेको नेपालको भूमि कूटनीतिक पहलद्वारा फिर्ता ल्याउने बताए । “हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आफैँ चडेर आएँ”, ओलीले भने, “अब पूर्व पश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँछ ।” कार्यक्रममा बागलुङका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरूले सम्बोधन गरेका थिए ।