भोलि प्रधानमन्त्री ओली र महासचिव विप्लवले संयुक्त सम्बोधन गर्ने

काठमाडौँ । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ ।

बिहीबार सरकार र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने जनाइएको छ ।  समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीकातर्फबाट महासचिव ‘विप्लव’ले सम्बोधन गर्ने जनाइएको छ ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।  सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यस्तो छ सहमतिपत्र