मैले गरेको विकास देखेनन् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेश पस्न नदिए पनि सिँचाइका लागि पानी पसाएरै छाड्ने बताएका छन् ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कार्यको बिहीबार सिन्धुली जिल्लामा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफू मधेश विरोधी नभएको दोहोर्‍याए ।

‘केपी ओलीलाई मधेश विरोधी भन्थे । केपी ओलीलाई पस्न नदिए हुन्छ ।’ उनले भने, ‘तर केपी ओलीले तपाईंका खेतमा पानी भने पसाउँछ । तपाईंका सुख्खा खेतलाई चिसा चाहिँ बनाइ दिन्छ केपी ओलीले ।’

‘म मुख्यमन्त्रीमार्फत तराई मधेशमा खबर पठाउन चाहन्छु, केपी ओलीलाई पस्न नदिए पनि हुन्छ । तर, पानी पस्न चाहिँ नरोक्नु होला ।’ उनले भने ।

यो आयोजनापछि अर्को आयोजना सुनकोशी कमला डाइभर्सनको निर्माण गरिने बताउँदै उनले भने, ‘उक्त आयोजनाले धनुषा, सिरहा, सप्तरी जिल्लाको करिब १ लाख ७० हजार बिघा जमिनमा सिँचाइ गर्छ ।’

यो आयोजनाले १ लाख ७० हजार बिघा जमिनमा सिँचाइ हुन थालेपछि प्रदेश २ का मधेशका जनताले आफैँ नगरा बझाउने उनले बताए । उनले भने, ‘त्यसपछि कुनै राजनीतिक पार्टी चाहिँदैन, जनता आफैँले नगरा बझाउने छन् ।’

प्रधानमन्त्री ओलीले देख्न नखोज्नेहरूले धमाधम भइरहेको विकास निर्माणलाई नदेखको बताए ।