स्रोत नखुलेको ४२ लाखसहित पक्राउ

काठमाडौँ– महानगरीय प्रहरी परिसर भक्तपुरले रु ४२ लाख ३० हजार श्रोत नखुलेको रकमसहित पक्राउ परेका दुईजनालाई आज थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोकलाई बुझाएको छ ।

अवैध रकमसहित पक्राउ परेका दोलखा बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र दोलखा बैतेश्वर घरभई काठमाडौँको माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङलाई प्रहरीले विभागमा बुझाएको महानगरीय प्रहरी परिषद्का प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

 

जुवातास खेलेर जम्मा गरेको अवैध रकमसहित गाडी आएको खबर पाएपछि प्रहरीले पेप्सीकोलाबाट सानोथिमितर्फ आउँदै गरेको बा. २१ च. ३८३९ नम्बरको कार जाँच गर्दा विनोदले चलाएको कारको डिक्कीमा रु २७ लाख फेला परेको उनले जानकारी दिए ।

अनुसन्धानका क्रममा उक्त रकम सुमनको भएको बताएपछि निजलाई पेप्सीकोलाबाट पक्राउ गरी बालकोटस्थित कोठामा छापा मार्दा थप रु १५ लाख ३० हजार बरामद भएको गरी निजको रु ४२ लाख ३० हजार बरामद् गरेको प्रनाउ गिरीले जानकारी दिए ।