नेपालमा बेरोजगारी समस्याका कारण, परिणाम र समाधानहरु :

बेरोजगारी:- सामान्यतया कुनैपनि काम गर्न योग्य व्यक्ति काम गर्ने ईच्छा र तत्परता देखाउदा समेत उसले काम गर्ने अवसर प्राप्त गर्दैन भन्ने त्यसलाई बेरोजगार भनिन्छ | अर्को शब्दमा भन्ने हो भने, “शारीरिक तथा मानसिक रुपमा काम गर्न सक्षम उमेर पुगेका भुक्तानी प्राप्त हुने काम नपाएका सबै जनशक्तिलाई बेरोजगार भनीन्छ |”वर्तमान समयमा नेपालका बिभिन्न समस्याहरु मध्य बेरोजगारी समस्या समेत एक प्रमुख समस्याको रुपमा बिध्यमान रहेको पाईन्छ |

नेपालको श्रम बजारमा प्रति बर्ष चार (४) लाख भन्दा बढी नयाँ युवा श्रम बजारमा प्रवेश गर्दछन तर दुर्भाग्य हाम्रो नेपालको रोजगारी वृद्धि दर ३.२% छ| त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट वैधानिक रुपमा श्रम स्विक्रित लिएर मात्रै प्रतिदिन करिबएक हजार (१०००) देखी पन्ध्र सय (१५००) युवाहरु रोजगारीको सिलसिलामा विदेश जान्छन् र प्रतिदिन लगभग तिन(३) देखी दश (१०) ओटा लाश बकस भित्र भित्रने गर्दछ | “विदेशिनु रहर हैन बाध्यता हो;” भन्ने युवा जमातको लागि बेरोजगारी समस्या अभिशाप तुल्य भएको पाईन्छ | नेपाली श्रमिक बिदेशी भूमिमा गयर थ्री डी – डर्टी, डिफिकल्ट एंड डेन्जरस काम गर्न बाध्य भएको पाइन्छ | बि.सं. २०७१ मा अर्थमन्त्रालयका अनुसार २६.१% उच्च शिक्षा बेरोजगारी रहेको पाइन्छ | जसको परिणाम स्वरूप बौद्धिक पलायन (ब्रेन ड्रेन)को समस्या सहजै देख्न सकिन्छ |

 

बेरोजगारी समस्याका प्रमुख कारणहरु:-

उच्च जनसंख्या वृद्धिदर: नेपालमा उच्च जनसंख्या वृद्धि दर लगभग २.३% रहेको कारणले गर्दापुराना बेरोजगारहरुलाई रोजगारीको अवसर सृजना हुन् नपाउदै नयाँ बेरोजगारहरु श्रम बजारमा प्रबेश गर्दछ| फलस्वरुप बेरोजगारी समस्याले झन्-झन् बिकराल हुन् पुग्छन् |

 

मुद्रास्फीति र मन्दी:मुद्राको क्रय शक्तिमा आएको ह्रास र बिभिन्न कारणले गर्दा व्यापार-व्यवसायमा आएको मन्दीको प्रभावले गर्दा नयाँ रोजगारी सृजनामा कमि तथा पुरानो रोजगारीका अवसरहरु समेत संकटमा पर्ने गएकोले बेरोजगारी समस्या उत्पन्न भएको पाईन्छ|

 

सुस्त व्यापार वृद्धि: हाम्रो मुलुकमा व्यापार-व्यवसायको वृद्धि दर अन्य विकसित मुलुकको तुलनामा निकैकमरहेको पाईन्छ | त्यसको परिणाम स्वरुप उच्च दरमा रोजगारीको अवसर सृजना हुन् पाउदैन र बेरोजगारी समस्या उत्पन्न भएको पाईन्छ |

 

प्रविधिको प्रयोग: आधुनिकीकरणको प्रभावले गर्दा स-साना देखि ठु-ठुल्ला उद्योगहरुमा मानव संसाधनको सट्टा प्राविधिको प्रयोगमा जोड़ दिनु समेत बेरोजगारी समस्याको एक प्रमुख कारण हो |

 

मौसमी रोजगार:नेपाल कृषि प्रधान देश भएको कारणले यसमाथि निर्भर अधिकाँश व्यक्ति तथा परिवार मौसमी बेरोजगारीका सिकार हुन् पुगेका छन् |

 

पुँजी अभाव: केहि सक्षम र स्वावलम्बी युवाहरु स्वरोजगार तथा अरुहरुका लागि समेत रोजगारीको सृजना हुने उद्यमशील कार्यको थालनी गर्न आवश्यक एकीकृत पुँजीको अभाव तथा युवा वर्गमा पुँजीको प्रबन्ध गर्न सक्ने असक्षमताको कारणले समेत बेरोजगारी समस्या उत्पन्न भएको पाईन्छ|

 

कमजोर शैक्षिक गुणस्तर:हाम्रो बिश्वविद्यालयहरुले उत्पादन गर्ने श्रम शक्ति सिद्धान्तमा अबल भएतापनि प्राविधिक, व्यवहारिक तथा प्रयोगात्मक ज्ञानको कमीले गर्दा समेत बेरोजगारी समस्या देखा पर्दछ |

 

सिपतथा दक्षतामा बेमेल: हाम्रो श्रम शक्ति संग बिध्यमान परम्परागत सिप तथा दक्षता र त्यसै गरि अन्य मुलुकहरुमा सिकेका सिप तथा दक्षता अनुसारको अवसर नेपाली श्रम बजारमा उपलब्ध नहुनु दुर्भाग्यको बिषय बन्न पुगेको छ | उपलब्ध सिप तथा दक्षता अनुसारको उद्यमशीलता नहुनु बेरोजगारी समस्याको कारण बन्न पुगेको पाईन्छ |

 

शुशासन र कुशल नेतृत्वको कमि: हाम्रो समाजमा मौलाएको चरम भ्रस्टाचार तथा असक्षम र गैरजिम्मेवार नेतृत्वको कारणले समेत बेरोजगारी समस्या उत्पन्न भएको पाईन्छ | मानव संसाधनको मूल सिद्धान्त ठिक व्यक्ति ठिक समयमा ठिक ठाउँमा हुनुपर्नेमा अन्यथा भई अर्थतन्त्रमा पर्न गएको भ्रस्टाचार तथा कुशासनको प्रभावले गर्दा सिंगो श्रम बजार प्रभावित भैई बेरोजगारी समस्या उत्पन्न भएको पाईन्छ |

 

परनिर्भरता: एउटा भनाई नै छ,  “आफूमा भर परे सबलता र अरुमा भर परे कमजोरी” भन्ने झैं हाम्रो श्रम बजार अन्य मुलुक प्रति निर्भर छ; जसलेगर्दा केहि सम्भावना बोकेका श्रम शक्ति विदेश पलायन हुने भएकोले गर्दा समेत नयाँ अवसर सृजना हुनसकेका छैन र फलस्वरुप देश भित्र बेरोजगारी समस्या समधान हुन् सकेको छैन |

 

प्रबिधिमा तरलता: पुराना सिप र क्षमता भएको व्यक्तिहरुलाई प्रबिधिको क्षेत्रमा हुने नविन परिवर्तन, आविष्कार तथा बिकासको प्रभावले गर्दा समेत बेरोजगारी समस्या उत्पन्न हुन् पुग्दछ |

 

श्रमको दर्जा: विदेशमा शौचालय सफा गर्न तत्पर व्यक्ति नेपालमा फोहर व्यवस्थापन तथासरसफाई गर्न समेत आनाकानी गर्नु हाम्रो समाजको श्रम प्रतिको हेर्ने श्रेणी गत दर्जा प्रबृत्ति नै प्रधान रहेको पाईन्छ | स्वाभिमान र प्रतिष्ठाका कारण धेरै जनशक्ति बेरोजगार हुनपुगेका छन् जसको नकरात्मक चक्रिय परिणाम सिंगो श्रम बजार भोग्न बाध्य छ |

 

उद्योगहरु टाँट पल्टनु: सरकारी तथा निजीस्तर बाट संचालित व्यापार-व्यवसाय तथा उद्योगहरु एकाएक टाँट पल्टनुतथा धमाधम बन्द हुनु बेरोजगारी समस्याका कारण बन्न पुगेको छ |

 

राजनीतिक अस्थिरता: हरेक नीतिको मूल नीति मानिने राजनीति पछिल्लो केहि दशकदेखि नेपालमाराजनीतिक व्यवस्था निरन्तर परिवर्तन भएतापनि  त्यसमा संस्थागत स्थायीत्व/स्थिरता नभएको कारण अन्तरिक तथा वाह्य पुँजी परिचालनमा डर तथा त्रासको अवस्था सृजना भएको पाईन्छ | लगानीकर्ताको जनधनको कुनैपनि सुरक्षाको ग्यारेन्टी नहुनु दुर्भाग्यपूर्ण अवस्था मान्न सकिन्छ | बिध्यमान राजनीतिक खिचातानी, अन्तरिक कलह, अविस्वास र आन्दोलनको प्रभावले गर्दा समेत श्रम बजारमाथि नकरात्मक असर पुगेको पाईन्छ | 

 

चक्रिय बेरोजगार: बेरोजगारीले आम्दानीमा भएको कमिको कारण समग्र अर्थतन्त्रमा पर्न गएको नकरात्मक प्रभावको चक्रिय परिणामको रुपमा बेरोजगारी समस्या झन्-झन् बढ्दै गएको पाईन्छ|

 

बेरोजगारी समस्याका परिणामहरु:

गरिबी:यससमस्याले आम्दानीको मार्ग अवरुद्ध गर्ने भएकोले अर्थतन्त्रमा नकरात्मक प्रभाव पर्न गई व्यक्ति, परिवार र सिङ्गो समाज नै गरिबीको चक्रव्यूहमा फस्न बाध्य हुन्छन् |

 

बिरामी र निरासा:यस समस्याको प्रभावले व्यक्ति तथा समाजमा निरासा उत्पन्न हुन्छ| जसको फलस्वरुप मानिस शारीरिक तथा मानसिक रुपमा बेमार हुन् पुग्दछ |

 

अपराधमा वृद्धि:यससमस्याले गर्दा समाजमा चन्दा आतंक, आत्महत्या, अपहरण, हत्या-हिंसा, चोरी-तस्करी जस्ता जघन्य अपराधमा वृद्धि हुन् पुग्दछ |

 

ब्रेन ड्रेन: यस समस्याको प्रभावले गर्दा युवाको सोच र शक्ति खाडी तथा अन्य मुलुकमा गएर रितिन्छ | हाम्रो श्रमशक्ति विदेशी भूमिमा गयर डिफिकल्ट, डेन्जरर डर्टी काम गर्न बाध्य हुन्छन् | जसको परिणाम देशमा युवा शक्तिको ठुलो अभाव देखा पर्दछ |

 

कुलत एवम् दुर्व्यसनी: यसको प्रभावले गर्दा मूलतः युवा श्रम शक्ति जांड-रक्सी, गाँजा, चरेस, सुर्तीजन्य पदार्थको सेवन, बेश्यालयमा देह व्यापार जस्ताकुलत एवम् दुर्व्यसनीको सिकार हुन् पुग्दछन् |

 

आर्थिक वृद्धिमा कमि:यसको प्रभावले आम्दानीमा कमि-क्रय शक्तिमा कमि– बजार मागमा कमि – व्यापारमा कमिको चक्रिय प्रभावले गर्दा समग्र आर्थिक वृद्धिमा कमि ल्याउन पुग्दछन् |

 

राजनीतिक अस्थिरता:“खाली दिमाग सैतानको बास” भन्ने झैँ बेरोजगार श्रम शक्तिहरुको प्रभावले गर्दा देशमा सानोतिनो कुरामा समेत अनिश्चितकालिन धर्ना, आन्दोलन, चक्काजाम, तोडफोड जस्ता अन्य बिभिन्न गतिविधिहरुको कारण राजनीतिक अस्थिरता निम्त्याएको पाइन्छ|

 

बेरोजगारी समस्याका समाधानहरु:-

कृषि र उत्पादनमा जोड़: नेपाल एक कृषि प्रधान देश भएको कारणले गर्दा निर्वाह मुखी कृषिलाई व्यवासयमुखी बनाउन तथा उत्पादन मुलक उद्योगमा विशेष जोड़ दिई रोजगारीको अवसर सृजना गर्न सकिन्छ |

 

जनसंख्या नियन्त्रण: तिब्र रुपमा बढ्दै गइरहेको जनसंख्यालाई सन्तुलित गर्नका लागि जनसंख्या शिक्षामा जोड़ र परिवार नियोजनका अस्थायी तथा स्थायी साधनको प्रयोगबाट आदर्श एवम् सन्तुलितआकारको जनसंख्यालाई रोजगारीको अवसर प्रदान गर्न सजिलो हुनेछ |

 

गुणस्तरीय शिक्षा: व्यवसाय तथा रोजगार मुलक गुणस्तरीय शिक्षाको प्रभावले बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न सकिन्छ |

 

पुँजीको प्रबन्ध: ससाना हिस्सामा रहेको पुँजीलाई एकीकृत गरि राम्रो किसिमको रोजगारी सृजना हुनेकार्यको थालनी गर्नुपर्ने देखिन्छ | साथ-साथै राज्यलेयुवा बर्गलाई व्यवसायीतथा स्वरोजगार बन्नका लागि पुँजी निर्माण प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्नुपर्दछ | खर्चमा भन्दा पुँजी निर्माण र लगानीमा जोड़ दिनसकेमा समेत बेरोजगारी समस्या समाधान गर्न मद्दत पुग्नेछ |

 

ग्रामीण विकास:नेपालको अधिकाँश श्रम अवसरशहर केन्द्रित हुने भएकोले ग्रामिण क्षेत्रको बिकासमा जोड़ दिई थप रोजगारीको अवसर सृजना गरि समस्या समाधान गर्न सकिन्छ |

 

लगानी मैत्री वातावरण: यस कार्यको थालनीबाट लगानी कर्ता उत्साहित भैई बिभिन्न बहु-रास्ट्रीय कम्पनीले नेपालमा नै उत्पादन देखी अन्य व्यवसायीक गतिविधिको थालनी गर्न पुग्नेछन् भने देश भित्र तथा बाहिरबाट नयाँ लगानीको थालनी हुने भएकोले बेरोजगारी समस्या समाधान गर्न सकिन्छ |

 

रोजगारीमुलक कार्यक्रमलाई प्राथमिकता: पुन:निर्माण, सडक-यातयात, बाढी नियन्त्रण, उत्पादन जस्ता रोजगारीमुलक क्षेत्रलाई प्राथमिकताका साथ बढाउने कार्यनीति लिएर अघि बढ्न सकेमा समस्या समाधानमा टेवा पुग्नेछ |

 

सिपमुलक तालिम: उपलब्ध श्रम शक्तिलाई समय-समयमा निरन्तर रुपले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट सिप र प्रबिधि युक्त तालिमको प्रबन्धबाट बेरोजगारी समस्या समाधान गर्न मद्दत पुग्नेछ |

 

सिप तथा दक्षता मिलान:खाडी तथा अन्य मुलुकमा रहेको श्रम शक्ति संगको सिप र दक्षता अनुसारको व्यवसायीक गतिबिधि स्वदेशमै सन्चालन गरि बिदेशमा रहेको श्रम शक्तिको उपयोगिताबाट थप नयाँ रोजगारीको अवसर समेत सृजना गर्न सकिन्छ |

 

तिब्र उद्योगिकरण:तिब्र उद्योगिकरण गर्नका लागि ठुलो मात्रामा श्रम शक्तिको जरुरी पर्ने भएकोले गर्दा बेरोजगारी समस्या समाधान मद्दत पुग्नेछ |

 

श्रम लक्षित: प्रबिधि भन्दा मानवीय श्रमको प्रयोग बाट उत्पादन एवं सेवा प्रवाहमा जोड़ दिन सक्यो भने बेरोजगारी समस्या समाधानमा सहयोग पुग्नेछ |

 

नीतिमा सुधार: रोजगारीको अवसर सृजना गर्ने व्यक्ति तथा व्यवसायलाई न्यून ब्याजदरमा ऋण सेवा, न्यून कर तथा ग्रामीण र दुर्गम क्षेत्रमा कारोबार संचालन गर्नेलाई विशेष प्राथमिकता र सहायताको नीति लिएर समेत बेरोजगारी समस्या न्यूनीकरण गर्न सकिन्छ |

 

युनियनको अधिकारमा नियमन: अनावश्यक सिण्डिकेट, बन्द-हडताल, धर्ना, कामचोरी, दादागिरी रधाकधम्की जस्ता गैर जिम्मेवारी पूर्ण कार्यहरुलाई निरुत्साहित गर्ने तथा श्रमिकको सिधा सम्पर्क मालिक संग स्थापित गर्नश्रम युनियनको अधिकारमा नियमन गरि स्वक्षश्रम सम्बन्ध कायम गरि थप रोजगारीको अवसर सृजना गर्न सकिन्छ |

 

सुशासन र कुसल नेत्रित्व: सुशाषित सेवा प्रवाह, स्थिर राजनीतिक अवस्थार कुसल नेतृत्वको कारण अर्थतन्त्रमा पर्न गएको सकरात्मक प्रभावले बेरोजगारी समस्या नियन्त्रण गर्न सहयोग पुग्नेछ |

 चन्द्र भुषण साह

([email protected])

ईश्वरपुर-२,सर्लाही (हाल काठमाडौं)