देश एक कदम अघि बढेको छ,सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई बधाई छ : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रको नयाँ प्रगति जनतासामु ल्याएको दावी गरेका छन् ।

पशुजन्य पदार्थमा आत्मनिर्भर भएको घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदम अघि बढेको बताएका हुन् । उनले कुनै न कुनै क्षेत्रमा हरेक दिन एक कदम अघि बढ्ने सरकारी नीति अनुसार कृषि क्षेत्रमा नयाँ प्रगति जनतासामु ल्याइएको दाबी गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देश एक कदम अघि बढेको छ । सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई बधाई छ, यो राष्ट्रिय सफलता हो ।’

कृषि क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न उत्पादन विविधता र बजारीकरण सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले ओलीले बताए । नेपालीको सौखिन खाने शैलीले गर्दा प्रशस्त उत्पादन हुँदा पनि कृषिजन्य आयात नघटेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले खानपानको गलत आदतले गर्दा अर्बौँ रकम देशबाट बाहिरिने गरेको बताएका छन् । देशको उत्पादनले पुग्ने भए पनि गलत बानीले गर्दा नेपालबाट अर्बौँ रुपैयाँ बाहिरिएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले भने, ‘चामल मात्रै ३५ अर्ब, ४० अर्बको किन्छौँ, नेपालजस्तो देशले । कृषिप्रधान देशले के प्रधान भयो, आयात प्रधान रु किनेर खाने प्रधान रु कुनै गौरवको कुरा होइन ।’

उनले अब आयातप्रधान होइन, निर्यातप्रधान मुलुक बनाउनुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले आधुनिक कृषि प्रणालीमा लैजानुपर्ने पनि बताए ।