पाँच हजार सुरक्षाकर्मी कोरोना सङ्क्रमित

काठमाडौं – विश्वभर भैलिएको कोरोना भाइरसले पाँच हजार भन्दा बढी सुरक्षाकर्मी कोरोना सङ्क्रमित भएका छन ।

यसको सबै भन्दा मुख्य कारण स्वास्थ साधनको कमी । सुरक्षाकर्मी र बिरामीले कोभिड–१९ बाट जोगिनका लागि चाहिने आवश्यक सुरक्षा मापदण्ड प्रयोग गर्न सकेको देखिँदैन । आपतकालीन अवस्थामा एक त त्यस्ता सामग्री पाउन सकिँदैन, पाइए पनि प्रयोग गर्ने अवस्था नहुनसक्छ ।

आपतविपतमा परेका व्यक्तिको जीउ जोगाउनुपर्ने गम्भीर अवस्थामा सुरक्षाकर्मीले चाहेर पनि स्वास्थ्य मापदण्ड अपनाउन सक्दैनन् भने यो एउटा उदाहरण हो ।

“जिम्मेवारी पूरा गर्ने क्रममा परिस्थितिले कुनै बेला केही अफ्ठ्यारो गराउन सक्छ तर स्वास्थ्य मापदण्ड पूरा गर्नेमा स्पष्ट निर्देशन छ”, सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल भन्छन् ।

यस्तै घटना विगतमा पनि नभएको होइन । काठमाडौँमै भएको सडक आन्दोलन होस् या क्वारेन्टिनमा बसेका व्यक्ति ह्वारह्वार्ती निस्कँदा सुरक्षाकर्मीले स्वास्थ्य मापदण्ड प्रयोग गर्न नसकेका दृष्टान्त छन् जुन अधिकांशतः सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । केही अघि ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्न लाग्दा भीड नियन्त्रणमा खटिएका केही सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भएको थियो ।

ज्यानको बाजी थापेर नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मी यस्तै आपत्विपत्का बेला कोभिड–१९ बाट सङ्क्रमित हुन पुगेका हुन् ।

कतिपय अवस्थामा सुरक्षाका सबै उपाय अपनाउँदा अपनाउँदै पनि सङ्क्रमण हुन्छ । सुरक्षा मापदण्ड अपनाएर उपचारमा खटिएका स्वास्थ्यकर्मी सङ्क्रमित हुनुले त्यस कुरा प्रस्ट्याउँछ ।

कार्यक्षेत्रमा खटिएकै बेला सङ्क्रमित भई उपचारपछि निको भएर पुनः सेवामा खटिएका प्रहरी उपरीक्षक विमलराज कँडेल जस्तोसुकै परिस्थिति आए पनि सुरक्षाकर्मी राज्यले दिएको जिम्मेवारीबाट विमुख हुन नहुने बताउँछन् ।

उच्च आत्मबल भयो भने कोरोनालाई जित्न सकिने दृढ विश्वास सुरक्षाकर्मीमा छ । त्यसैले अहिलेसम्म धेरै सुरक्षाकर्मी कोरोना जितेर काममा फर्किइसकेका छन् ।

पछिल्लो समयमा मुलुकभर सङ्क्रमितको सङ्ख्या बढेसँगै सुरक्षा निकायमा पनि दर बढ्दो छ । नेपालका चार सुरक्षा निकाय ९नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग० बाट प्राप्त विवरणअनुसार आजसम्म पाँच हजार १३५ सुरक्षाकर्मीमा कोभिड–१९ देखिसकेको छ । त्यसमध्ये दुई हजार १८ जना कोरोना जितेर कार्यक्षेत्रमा खटिइसकेका छन् ।

निको भएकामा उच्च मनोबल देखिएकाले अन्य प्रहरी कर्मचारीलाई समेत हौसला मिलेको नेपाल प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत बताउँछन् ।

गत माघ ९ गते चीनको वुहानबाट आएका एक नेपालीमा कोभिड–१९ देखिएपछि त्यसको रोकथामका लागि सरकारले आवश्यक योजना बनाउन थाल्दा नेपाली सुरक्षाकर्मीले सम्भावित जोखिम आङ्कलन गरेर आन्तरिक तयारी थालेका थिए ।

मुलुकमा अकस्मात आइपर्ने महामारी, राष्ट्रिय विपद् होस् या हूलदङ्गा सबै नियन्त्रणको नेतृत्व लिँदै आम–नागरिकलाई सुरक्षाको पूर्ण–प्रत्याभूति दिलाउने जिम्मेवारी सुरक्षा निकायको काँधमा छ ।

आइपर्ने जोखिम मोल्न तयार भएर यसपालिको कोभिड–१९ विरुद्धको युद्धमा होमिएका सुरक्षाकर्मी यस्तै आपत्विपद् र शान्तिसुरक्षामा खटिएकै बेलामा सङ्क्रमण भएका छन् ।

आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर ७७ वटै जिल्लामा अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मीमा पछिल्लो समयमा नियमित सङ्क्रमण देखिन थालेको छ । पछिल्लो एक साताको विवरणले सुरक्षा निकायमा सङ्क्रमणको क्रम बढ्दो देखाउँछ । एक सातामै एक हजार ५०० बढी सुरक्षाकर्मी कोरोना सङ्क्रमित भएका छन् ।

मुलुकभर सङ्क्रमण दरमा बढिरहेका बेला त्यसको प्रत्यक्ष प्रभाव सुरक्षा निकायमा प्रस्ट देखिन्छ ।

गत वैशाखबाट सुरक्षा निकायमा सङ्क्रमण देखिएको थियो । जेठको पहिलो सातासम्म १२ सुरक्षाकर्मीमा सङ्क्रमण थियो । नेपाल प्रहरीतर्फ जेठ ३ गते एक प्रहरी जवान पहिलो सङ्क्रमित भए ।

त्यसपछि सङ्क्रमण दरमा क्रमशः वृद्धि भएकामा साउन ६ गते बन्दाबन्दीको अन्त्यलगत्तै सर्वसाधारणको चहलपहल बढ्दा सङ्क्रमणले गति लिएको जनस्वास्थ्य विज्ञको भनाइ छ ।

सुरक्षा निकायमा देखिएको सङ्क्रमणमध्ये सबैभन्दा बढी नेपाल प्रहरीमा छ । त्यसपछि नेपाली सेनामा बढी देखिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अधिकांश लक्षणविहीन रहेको र धेरै निको भएर घर फर्किसकेको बताए । उनीहरू उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिएका उनले जानकारी दिए ।

हालसम्म चार सुरक्षा निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरी सङ्क्रमित भएका छन् । सर्वसाधारणसँग प्रत्यक्ष साक्षात्कार हुने भएकाले प्रहरी बढी प्रभावित भएका हुन् ।

सार्वजनिक तथ्याङ्कअनुसार नेपाल प्रहरीमा आजसम्म कूल दुई हजार ८१७ मा सङ्क्रमण भएको छ । उनीहरूमध्ये एक हजार २३३ प्रहरी निको भएर कार्यस्थलमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी जोखिम आङ्कलन गरेरै आवश्यक सुरक्षा सावधानीका साथ कार्यक्षेत्रमा खटिँदै आएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् ।

“सङ्क्रमित प्रहरी कर्मचारीमा उच्च मनोबल छ, निको भएर मुलुकको सुरक्षाप्रति थप प्रतिबद्ध हुँदै कार्यस्थलमा खटिएका छन्”, पोखरेलले भने, “जोखिम रोक्ने महत्वपूर्ण भूमिका प्राप्त प्रहरी जिम्मेवारीबाट पन्छिदैन ।” तर सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले शान्तिसुरक्षामा ठाउँठाउँमा खटिनुपर्ने प्रहरीको उपस्थिति न्यून गर्नुपर्ने बाध्यताको सम्भावना देखिएको छ ।