राष्ट्रिय सम्मानका साथ आङरिता शेर्पाको अन्त्येष्टि

काठमाडौं । कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ ।

स्व शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको थियो ।

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले स्व शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

सोहीअनुरुप सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले शेर्पा गुम्बा बौद्धमा रखिएको शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।

पर्यटन विभागका महानिर्देशक, उच्च सरकारी अधिकारी, वरिष्ठ पर्यटन व्यवसायीलगायतले शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्व शेर्पाले बिनाअक्सिजन १० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

उनका तीन छोरा र एक छोरी छन् । आङरिताकी श्रीमतीको सात वर्षअघि निधन भएको थियो ।

सोलुखुम्बुको थामेमा जन्मेका शेर्पाले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए ।

सन् १९९६ मा बिनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।

शेर्पाले सगरमाथा मात्रै नभई बिनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धवलागिरिलगायत दर्जनौँ हिमालको आरोहण गरेका छन् ।