नेप्सेमा हरियाली ,करिब पौने २ अर्बको कारोबार

काठमाडौं । साताको चौथौ दिन सेयर बजार बढेको छ । मंगलबार दोहोरो अंकले घटेको बजार परिसूचक नेप्से बुधबार भने सुधार भएको छ । मंगलबार दोहोरो अंकले घट्दा १५० अंकबाट तल झरेको नेप्से बुधबार पुनः माथि गएको छ ।

आज नेप्से ९.३७ अंकले वृद्धि हुँदा १५५५.५२ अंकमा पुगेको छ । प्रि-ओपनिङ सेसनमा घटेको नेप्से बजार खुलेसँगै बढ्ने प्रयास गरेको थियो । तर मंगलबार दोहोरो अंकले घटेको नेप्सेमा बुधबार पनि बिक्री चाप बढ्दा बजार खुलेको १५ मिनेट पनि नपुग्दै नेप्से घट्न लाग्यो । तर १२ बजेपछि उकालो लाग्ने क्रमममा देखिएको नेप्से त्यसपछि पनि केही उतारचढाव देखिए पनि अन्‍तत: ९ अंकभन्दा बढीले बढेर बन्द भयो ।

आज बजारलाई लिड बैंकिङ समूहको सूचकमा सामान्य वृद्धि हुँदा पनि हाइड्रोपावर, विकास बैंक, वित्त कम्पनी, जीवन र निर्जीवन बिमाको सूचकमा राम्रो सुधार देखिँदा नेप्से पनि बढेको हो ।

हाइड्रोपावर समूहको सूचक सर्वाधिक २.८ प्रतिशतले बढेको छ । त्यस्तै वित्त कम्पनी समूहका सूचक १.६४ प्रतिशत र विकास बैंक समूहको सूचक १.२६ प्रतिशतले बढेको छ । जीवन बिमा समूहको सूचक ०.९८ तथा निर्जीवन बिमा समूहको सूचक ०.९५ प्रतिशतले बढेको छ । तर बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक भने ०.१५ प्रतिशतले मात्रै बढेको छ । यता सबै समूहको सूचकमा हरियाली देखिँदा होटेल समूहको सूचक भने १.३६ प्रतिशतले घटेको छ ।

बजार परिसूचकमा वृद्धि भए पनि बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार करिब ३ अर्बको कारोबार भएको बजारमा बुधबार भने कारोबार रकम पौने २ अर्ब पनि पुग्न सकेन । आज बजारमा ४१ हजार ६२० वटा कारोबारबाट १९४ कम्पनीको ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ७८ लाख २२ हजारको कारोबार भएको छ ।

बुधबार कारोबार रकमका आधारमा बजारको नेतृत्व शिखर इन्स्योरेनसले गरेको छ । कम्पनीको १० करोड ८५ लाख ९८ हजारको सेयर किनबेच भएको छ । नेपाल बैंक, नेपाल लाइफ, अरुण भ्याली हाइड्रोपावर रिलायन्स लाइफको रकमका आधारमा धेरै कारोबार हुने कम्पनी छन् । त्यस्तै सबैभन्दा धेरै कित्ता सेयर किनबेच भने अरुण भ्याली हाइड्रपावरको भएको छ ।

बुधबार हाइड्रो पावर समूहको सूचक सर्वाधिक वृद्धि हुँदा धेरै कमाउने शीर्ष ५ कम्पनीमा पनि हाइड्रोपावर नै परेका छन् । पाँचवटा हाइड्रोपावर कम्पनीको सेयर मूल्यामा बुधबार पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा अरुण भ्याली हाइड्रोपावर, माउन्टेन हाइड्रो, युनाइटेड मोदी हाइड्रोपावर, युनियन हाइड्रोपावर र दिव्येश्वरी हाइड्रोपावर छन् । यता गुमाउनेमा भने गोखार्ज फाइनान्स, तारागाउँ रिजेन्सी होटेल छन् । सँगै म्युचुअल फन्डका लगानीकर्ता पनि अगाडि देखिएका छन् ।