कोरोना संक्रमितको उपचारमा प्रयोग हुने नेपालमै पहिलोपल्ट फाभिमिराभिर ट्याब्लेट उत्पादन सुरु

काठमाडौं । नेपालमै पहिलोपल्ट फाभिमिराभिर ट्याब्लेट उत्पादन सुरु भएको छ । देउराली–जनता फर्मास्युटिकल्सले कोभिड–१९ संक्रमितका लागि आपतकालीन प्रयोग हुने औषधि उपलब्ध गराउन थालेको हो ।

औषधि फाभिर–२०० नाममा उपलब्ध हुनेछ । कोभिड–१९ रोगको उपचारका लागि आवश्यक औषधिहरुमध्ये फाभिपिराभिर ओरल ट्याब्लेट एन्टिभाइरल औषधिलाई विश्वका धेरै मुलुकले कोभिड–१९ का बिरामीमा परीक्षणपश्चात प्रयोग गरिरहेका छन् । जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारका लागि यो औषधिलाई अत्यावश्यक प्रयोग गर्न अनुमति प्रदान गरिसकेका छन् ।

देउराली–जनताले औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति लिएर नेपालमा पहिलोपटक उत्पादन सुरु गरिसकेको छ । कोभिड–१९ को उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनका लागि उपलब्ध गराउने गरी औषधि व्यवस्था विभागबाट यसले स्वीकृति पाइसकेको छ । नेपाल यो औषधि उत्पादन गर्ने आठौं मुलुक हो ।