केपि ओलिद्वारा माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् ।

निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेकोलगायतका आरोप लगाएर नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण पत्र पठाएका थिए ।

चैत १२ गते त्यसको जवाफ दिएका नेता नेपाल र रावलले विधानको उल्लंघन आफूहरुले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईंलाई किन कारबाही नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए ।

अध्यक्ष ओलीले भने स्पष्टीकरणको जवाफमा गल्ती स्वीकार गर्नुका साटो अंहकार र आत्मकेन्द्रित कुरा मात्र उल्लेख गरेको भन्दै निलम्बनको कारबाही गरेको उल्लेख गरेका छन् ।

उनले दुबै नेतालाई छुट्टाछुट्टै पत्र पठाएर भनेका छन्, ‘आपराधिक कृयाकलापहरु स्वीकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरेका गलत तथा अपराधिक क्रियाकलापहरुप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनाधिकृत र हास्यापद कार्य गरेको देखियो ।’

एमालेको नाममा पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलाप गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिन अग्रसर देखिएको भन्दै अध्यक्ष ओलीले पार्टी विधानको धारा ४९(ख) बमोजित ६ महिनाका लागि निलम्बन गरेको बताएका छन् ।

यो सच्चिने अन्तिम मौका भएको भन्दै उनले आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने बताएका छन् । उनले अघि भनेका छन्, ‘सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।