प्रचण्डको पुनरावलोकन निवेदन अदालतद्वारा अस्वीकार

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम सम्बन्धमा गत फागुन २३ गते भएको फैसला दिएको पुनरावलोकन निवेदन अस्वीकृत भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गाना रहेको पूर्ण इजलाशले निवदेकको माग बमोजिम पुनरावलोकन हुन नपर्ने निर्णय गरेको छ ।

यो निर्णयसँग पुनरावलोकनको अध्याय टुङ्गिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलको पार्टीको हुने फैसला दुई जना न्यायाधीश रहेको संयुक्त इजलाशले गरेको थियो । प्रचण्डले ‘सर्वोच्च अदालतको स्थापित नजीर वा कानूनी सिद्धान्तको प्रतिकूल फैसला वा अन्तिम आदेश भएको’ जिकिर सहित पुनरावलोकनको निवेदन दर्ता गराएका थिए ।

संयुक्त इजलाशले गरेको फैसला पूर्ण इजलाशले हेर्ने नियमअनुसार प्रधानन्यायाधीश सहित ३ जनाको इजलाशले निवेदन हेरेको थियो ।

यस्तो इजलाशमा फैसला वा अन्तिम आदेश गर्नेबाहेकका न्यायाधीश रहने नियम छ । यस्तो इजलाशले पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्ने व्यवस्था छ ।