मल खरिदमा एक अर्ब भ्रष्टाचारको कसुरमा १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । डीएपी मल खरिदमा १ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको कसुरमा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

कृषि तथा पशुपछी मन्त्रालयअन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेडबाट भएको खरीदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेसहितलाई प्रतिवादी बनाएर १ अर्ब ५३ लाख २२ हजार ४ सय ६६ रुपैयाँ ७२ पैसा बिगो र कैद सजाय माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्यसैगरी आयात गरेको मल गुणस्तरीय रहेको भनी प्रतिवेदन दिने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिका प्रवन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला परामर्शदाता भोलानाथ चौधरी र कम्पनीका तर्फबाट सम्झौता गर्ने मनोज आचार्यलाई समेत मुद्दा दायर गरेको हो ।

साथै मल आयात गर्ने जोशी बिज हाउस प्रालिका विनित जोशीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उक्त कम्पनीलाई भुक्तानी भएको रकमको ९० प्रतिशत हुनेगरी भ्रष्टाचारको आरोपमा विगो कायम गरेको हो ।

अख्तियारले उनीहरुमाथि गुणस्तरहीन मललाई गुणस्तरीय भनी प्रतिवेदन तयार गर्न लगाई भुक्तानी गरेको आरोप लगाएको छ ।