प्रचण्डले अब कोहिसँग भेटवार्ता नगर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैसँग पनि भेटघाट नगर्ने भएका छन् ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै व्यक्तिगत रुपमा हुदै आएको भेटघाट र शुभकामना आदान प्रदानमा रोक लगाएका हुन् । अध्यक्ष प्रचण्डको सचिवालयले बिहीबार सूचना जारी गर्दै काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको जनाएको हो ।

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं’, प्रचण्डको सचिवालयले भनेको छ ।

सचिवालयले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस भइरहेको पनि जनाएको छ ।