७ लाखभन्दा बढीको कारोबार भए विवरण दिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुसँग ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले सबै बैंकहरुलाई पत्राचार गर्दै ७ लाख रुपैयाँ वा सोभन्दा माथिको कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

सुरपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको बारेमा स्थलगत निरीक्षण गर्ने गरेको छ । विभागका निर्देशक रोशनकुमार सिग्देलले ढाँचासहित पत्राचार गरेर यस्तो विवरण उपलब्ध गराउन भनेका छन् ।

अहिले १० लाख रुपैयाँभन्दा माथिको कारोबार नगदमा गर्न पाइँदैन । १० लाखभन्दा कम रकम भने नगदमै कारोबार गर्न पाउने व्यवस्था छ । यस्तो अवस्थामा राष्ट्र बैंकले ७ लाखकै सीमा तोकेर विवरण माग्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।