बलात्कारको आरोपि नायक पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरे

काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गर्ने भएका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु(२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’ उनले भनेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद ।’

एउटा म्युजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबरजस्ती करणी गरेको अभियोग शाहमाथि छ ।