नेपाली किसान कृषि प्रविधि सिक्न कोरिया जान पाउने

काठमाडौं । नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले सोमबार हस्ताक्षर गरे ।

सो सम्झौता अन्तर्गत जीएमसीले नेपाली कृषकलाई ५–५ महिना गरी दुईपटक कोरियाको सीप र प्रविधिको प्रयोगबारे तालिम प्रदान गर्नेछ । कोरियाको किम्जे र मुहानगुनमा नेपाली कृषकले काम गर्नेछन् । सम्झौता अनुसार कोरियाको विभिन्न नगरपालिकाले सो कार्यक्रममा सहभागी हुन चाहने कृषकसँग कृषि उद्यम केन्द्रमार्फत सहजीकरण गर्नेछ । नेपालमा भने कृषि उद्यम केन्द्रले यहाँको नगरपालिका तथा गाँउपालिकासँग समन्वय गरेर वास्तविक कृषक छनोट गर्नेछ ।

सो कार्यक्रमको लागि कोरिया जाने किसानले मापदण्ड अनुसारको सेवासुविधा पाउनेछन् भने न्यूनतम ८ घण्टा खेतीमा बिताउनु पर्नेछ । उक्त कार्यक्रममा नेपाली कृषकहरूलाई सहभागी गराउन पाउनु नेपाली कृषकका लागि महत्वपूर्ण खुट्किलो साबित हुने सभापति सुमार्गीले बताए । यो कार्यक्रमले कोरियन कृषि प्रविधि नेपालमा भित्र्याउन सहज हुने उनको भनाइ थियो ।

जीएमसीका मुनले ईपीएसबाट गएका नेपाली कामदारले गरेको कामबाट प्रभावित भएर नेपालमा कोरियन सीप तथा प्रविधि भित्र्याउन नेपाली कृषक लैजान आफूहरु तयार भएको बताएका थिए ।

यसअघि कृषि क्षेत्रमा काम गर्नका लागि मौसमी कामदार स्थानीय तहले पठाउन थालेपछि रोकिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रूपमा अनुपयुक्त भएको ठहर गर्दे रोकेको थियो ।