कोरोनाको कहरपछि डेंगुले फेरि सताउन थाल्यो

काठमाडौं । झण्डै अढाई वर्षको कोरोना कहरपछि बल्ल बौरिन लागेको स्वास्थ्य अवस्थालाई फेरि डेंगुले जनतालाई कायल बनाउन थालिसकेको छ । दिन दिनै नेपालमा डेंगु संक्रमणको संख्या बढ्दै गएको छ । दैनिक जसो ५ सय बढी डेंगु संक्रमित भएकाहरुलाई पोष्ट डेंगुमा स्वास्थ्य समस्या देखिएको पाइएको छ ।

डेंगु संक्रमण निको भैसकेपछि पनि बिरामी पुरानो स्वास्थ्य अवस्थामा फर्कन धेरै समय लाग्ने गरेको पाइएको छ । कमजोरी महसुस हुने, अल्ली लाग्ने, खान मन नलाग्ने वाकवाकी लाग्ने लगायतका समस्या डेंगु संक्रमण मुक्त भएपछि हुने गरेको पाइएको छ ।

त्यस्तै, पोष्ट डेंगुमा बिरामीलाई पहिले जस्तो सक्रिय हुन नसक्ने, शरीर दुख्ने कपाल झर्ने लगायतका समस्या हुने गरेको छ । कोरोना संक्रमणका कारण थलिएका केही बिरामीलाई डेंगुका कारण थप समस्या हुने गरेको सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन् ।

हाल डेंगु संक्रमण भएपनि अस्पताल नआउने संख्या धेरै रहेको छ । आफूलाई डेंगु संक्रमणका लक्षणहरु देखिएपछि वा संक्रमण पुष्टी भएपछि पनि घरमै सिटामोल तथा झोलीलो पदार्थहरु खाएर बस्नेको संख्या बढी रहेको छ । त्यस्तै, संक्रमणको लक्षणहरु देखिएपछि परीक्षण नै नगराउनेहरुको संख्या पनि बढ्दो रुपमा रहेको छ । पहिले दैनिक २ देखि ३ सय सम्म शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालमा आउने गरेकोमा हाल त्यो संख्या घटेको चिकित्सकहरुको भनाई रहेको छ । जथाभावी खानेकुरा र औषधि नखान डा। पुन आग्रह गर्छन् ।

डेंगु संक्रमण देखिएपछि वा डेंगुका लक्षण देखिएपछि मेवाको पात लगाएतका खानेकुरा खाँदा झनै समस्या हुने भएकाले त्यस्ता किसिमका खानेकुरा नखान चिकित्सकहरु सुझाव दिन्छन् । घरायसी औषधि सेवन गर्दा झनै समस्या देखिएर अस्पताल भर्ना हुनु पर्ने अवस्था समेत आएको देखिएको छ । डेंगुको संक्रमणले अत्यधिक रक्तस्राब हुनसक्छ त्यो अवस्थामा अस्पताल जानुपर्छ तर त्यस्तो अवस्थामा पनि अस्पताल नजादा संक्रमितको मृत्यु समेत भएको डा. पुन बताउँछन् ।

डेंगु संक्रमित भैसकेपछि खान मन नलाग्ने, वाकवाक लाग्ने, शरीर दुख्ने लगाएतका समस्या देखिने गर्दछन् । संक्रमितले झोलीलो तथा पौष्टिक तत्व युक्त खाना खान चिकित्सक सुझाव दिन्छन् । एडिस नामक लाम्खुट्टेका कारण डेंगु सर्ने गर्दछ । यो जातकको लामखुट्टे पानी जम्ने ठाउँ गमला, कुलर पोखरी लगाएतका ठाउँमा हुने हुनाले पानी जम्न दिन हुँदैन ।