योगेशले टिकट पाउँदा घनश्याम अझै अन्योलमा, भिमले टिकटै पाएनन्

काठमाडौं । पार्टीभित्रको चरम गुटबन्दीको शिकार बनेपछि र एकलौटी रुपमा काम कारवाही पार्टी नेतृत्वले गर्न थालेपछि फरक मत राख्दै १० बुँदे सम्झौतापछि एमालेमै बसेका एमालेका दश भाई भनेर बहुचर्चित अनुहारहरुमध्ये एक भिम रावललाई सुदूरपश्चिम अछामबाट एमालेले प्रतिनिधिसभाको लागि टिकट नै दिएन । उता घनश्याम भुषालको पनि हालत उस्तै छ टिकट पाउने नपाउने केहि टुंगो छैन । उही दश भाईमाध्ये ताप्लेजुङबाट भने योगेश भट्टराईले भने टिकट पाएका छन् ।

प्रतिनिधसभा सदस्यहरुको नामावली निर्वाचन आयोगले टुंग्याउन दिएको समयसिमा दुई दिन मात्र बाँकी भएपछि दलहरुलाई उम्मेद्वार टुंगो लगाउने सकसको माझ एमालेले भने अधिकांस स्थानका उम्मेद्वारहरु टुंग्याएको छ ।

अछाम निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बनाउनका लागि प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी र अछाम जिल्ला कमिटीले रावलको नाम एकल सिफारिस गरेर पठाएको भएता पनि रावलको स्थानमा एमालेले झपट बोहोरालाई टिकट दिएको छ ।

बोहोरा माओवादी केन्द्रबाट एमालेमा आएका नेता हुन् । सुदूरपश्चिम प्रदेशसभाका सांसद रहेका बोहोरा प्रदेश सरकारको अर्थमन्त्री रहेका थिए ।

२०७७ फागुन २३ मा नेकपा एकता प्रक्रिया खारेज गर्ने भएकालेको निर्णयपछि माओवादी केन्द्रमा नफर्की बोहोरा एमाले बसेपछि पार्टीले सांसद सदस्यबाट हटाएको थियो ।

१० बुँदे सहमतिपछि एमालेमा रहेका रावलले मंसिरमा भएको एमालेका १० औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गरेका थिए । रावलको भूमिकालाई लिएर ओली असन्तुष्ट रहँदै आएका थिए ।

अछामको नेताहरुसँग भेटमा पनि अध्यक्ष ओलीले रावलको एकल नाम सिफारिसबारे उम्मेदवारीको विषयमा चासो राखेका थिए । रावलले २०५१, २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा अछाम १ बाट निर्वाचित भएका थिए । रावल पछिल्लो समयमा ओलीको आलोचकका रुपमा रहेका थिए ।

एमालेको १०औं महाअधिवेशनमा ओलीले घोषणा गरेको सूचीमा असहमत भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसयता पनि उनले अध्यक्ष ओलीमाथि प्रश्न उठाउने गरेका थिए ।

एमालेको क्षेत्रीय कमिटीले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस भएको थियो । भुसाल स्वयं भने आफ्नो घर भएको क्षेत्र रुपन्देही १ बाट उम्मेदवार हुन चाहन्थे । तर जिल्लाले उनको नाम पठाएन ।

क्षेत्र नम्बर ३ मा भूसाल र घिमिरेको नाम मात्र सिफारिस भयो । एमाले नेतृत्वले यो क्षेत्र तालमेलका लागि छुट्याएको छ । यो क्षेत्रमा एमालेले राप्रपाका वरिष्ठ नेता दीपक बोहोरालाई समर्थन गर्ने सम्भावना छ ।