रूपन्देही–२ मा समाजवादीका गुरुङको उम्मेदवारी खारेज भएसँगै १८ उम्मेदवारमा सिमित, एमालेका पौडेललाई सहज

बुटवल । सत्ता गठबन्धनमा धेरै लामो छलफल र रस्साकस्सीपछि नेकपा एकीकृत समाजवादीको भागमा १९ सीट परेकोमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका गठबन्धनका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

गुरुङको उम्मेदवारी खारेज भएसँगै समाजवादीलाई १ सिट घाटा लागेको छ । लामो रस्साकस्सीपछि बल्ल सत्ता गठबन्धनले पाएको १९ सिटमा १८ सिट मात्रै बाँकी रहेको छ ।

त्यसैगरी हाम्रो नेपाली पार्टीका कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज भएको छ । तीन जनाविरूद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गरी उम्मेदवारी खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसरी तीनै जनाको उम्मेदवारी खारेज भएसँगै नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विष्णु पौडेललाई अब धेरै सहज बनेको नेताहरुले बताएका छन् । पौडेलको मुख्य प्रतिष्पर्धीका रुपमा हेरिएको गुरुङको उम्मेदवारी नै खारेज भएपछि रुपन्देहिका एमाले कार्यकर्ता पौडेलको जीत सुनिष्चित भएको बताउँछन् भने समाजवादी तथा गठबन्धनका नेता कार्यकर्ता भने चुकचुकाईरहेका छन् ।

निर्वाचन आयोगले केही बेरअघि सूचना जारी गरी अदालतले बैंकिङ कसुरमा जरिवाना गरेकाले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको जानकारी दिएको हो।

गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो।

गुरुङसहित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनाल सहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जीत विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरूद्ध २०७६साउन ६ गते मुद्दा दर्ता भएको थियो।

काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भीक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जिव राई र शक्तिमान डंगोल समेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा २०७८ मंसिर १२ गते उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो।

गुरुङ लगायतलाई जनही दुई हजार जरिवाना र २ करोड २५ लाख रूपैयाँको चेक काटिएको मितिदेखि २०७६ साउन ६ गते सम्मको सयकडा १० प्रतिशतका दरले कानुन बमोजिमको ब्याजसहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो।