दुई वटा जन्ममिति भेटिएपछि देउवाको उम्मेदवारीविरुद्ध उजुरी दर्ता

काठमाडौं । डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले देउवाविरुद्ध आफूले उजुरी दर्ता गरेको बताए । नवदुर्गा गाउँपालिका वडा नंं ४ निवासी मल्लले उम्मेदवारी खारेजीका लागि दाबी बिरोधको निवेदन दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रधानमन्त्री देउवाको नागरिकतामा २००३ साल जेठ ३१ गते उल्लेख भएकोमा मतदाता परिचय पत्रमा २००२ साल जेठ ३१ गते जन्म मिति उल्लेख भएको र मतदाता परिचय पत्रमा मतदाताको क्रमसंख्या पनि अनियमित भएकोले निर्वाचन उम्मेदवारी प्रयोजनमा कानून विपरितको कागजात पेस गरेकोमा आवश्यक प्रमाणसहित उजुरी दिएको निवेदकले जानकारी दिएका छन् ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि डडेल्धुरामा शेरबहादुर देउवासहित ११ जना उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।