भोलिदेखि चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन

सी तेस्रो कार्यकाल पनि महासचिव बन्लान् त ?

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन आइतबार (१६ अक्टोबर) चीनको राजधानी बेइजिङस्थित तियानमेन स्कवायरमा रहेको ग्रेट हल अफ द पिपुलमा सुरू हुँदैछ । पार्टी स्थापना भएको १०१ वर्षको इतिहासमा सीपीसीको सर्वोच्च अंग मानिने महाधिवेशनको २०औं संस्करण सुरू हुन लागेको हो, जुन हरेक पाँच वर्षमा एकपटक आयोजना हुन्छ ।

यो महाधिवेशनबाट सीपीसीले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनलाई अबका पाँच वर्षसम्म हाक्ने राजनीतिक र सैन्य नेतृत्व चुन्नेछ भने त्यो अवधीमा गरिने योजनाहरू पारित गर्नेछ ।

महाधिवेशनमा देशभरबाट सीपीसीका करिब २३ सय प्रतिनिधि सहभागी हुनेछन् । हाल देशभर सीपीसीका ९ करोड २० लाखभन्दा बढी पार्टी सदस्य रहेका छन् । विभिन्न कमिटीबाट पार्टी सदस्यले चुनेर पठाएका प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुने व्यवस्था सीपीसीको विधानमा गरिएको छ । देशका विभिन्न स्थानबाट पार्टीको महाधिवेशनमा सहभागी हुन तोकिएका प्रतिनिधिहरू राजधानी बेइजिङ आउनेक्रम गत बिहीबारदेखि नै सुरू भएको चिनियाँ सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत ३१ अगस्टमा बसेको पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले प्रस्ताव गरेको महाधिवेशनको मितिलाई ९ अक्टोबरमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकले अनुमोदन गरेको थियो । निर्धारित समयमा सम्पन्न हुने सीपीसीको राष्ट्रिय महाधिवेशन एक हप्ताअघि मात्रै तय भए पनि पूर्व तयारीका कारण तोकिएको छोटो समयमा नै सम्पन्न हुँदैछ । महाधिवेशन आउँदो एक हप्ता चल्नेछ ।

महाधिवेशन उदघाटन सत्रलाई चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिनपिङले विशेष सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ उनले गएको पाँच वर्षमा भएका कामको प्रगति विवरण र आउने पाँच वर्षमा गरिने कामहरूको फेहरिस्त प्रस्तुत गर्नेछन् ।

सी तेस्रो पाँच वर्षे कार्यकाल पनि आफैं चलाउने मनस्थितिमा छन् । चिनियाँ सरकारी सञ्चार माध्यमहरूका अनुसार अहिलेसम्म उनको प्रतिद्वन्द्वीका रूपमा कोही दोस्रो व्यक्ति अगाडि सर्ने सम्भावना देखिएको छैन । त्यसपछि पार्टीको सातौँ प्लेनमले अनुमोदन गरेको केन्द्रीय समितिको प्रतिवेदन, पार्टी केन्द्रीय अनुशासन आयोग (सीसीडीआई) को प्रतिवेदन र पार्टी विधान संसोधनका लागि तयार पारिएका प्रस्तावहरू पेस हुने जनाइएको छ । चीनको राज्य सञ्चालन गर्ने मुख्य दस्तावेज नै सीपीसीको विधान हो । जसले निदृष्ट गरेका क्षेत्राधिकारभन्दा बाहिर गएर कुनै पनि कार्य सञ्चालन गर्न मिल्दैन ।

महाधिवेशनबाट पार्टी महासचिव, केन्द्रीय सैन्य आयोग ९सीएसी० अध्यक्ष र सीपीसीका ३७० जना केन्द्रीय सदस्य चयन हुनेछन् । जसमा २०० जना मताधिकार प्राप्त केन्द्रीय सदस्य हुन्छन् भने १७० जना मताधिकार विहिन वैकल्पिक केन्द्रीय सदस्य हुन्छन् । साथै महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिले पार्टीका २५ जना पोलिटब्यूरो सदस्य चयन गर्नेछ ।

करिब एक हप्तासम्म चल्ने उक्त महाधिवेशनपछि पार्टीको पहिलो केन्द्रीय समिति अर्थात प्लेनमबाट ती २५ जना पोलिटब्यूरो सदस्य चयन हुनेछन् । त्यसपछि नवनिर्वाचित उक्त पोलिटब्यूरोको बैठकबाट २५ जनामध्ये ७ जना स्थायी कमिटीमा चुनिनेछन् ।

अहिले पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोग (सीएसी) को अध्यक्ष दुवै प्रमुख पदमा चीनका राष्ट्रपतिसमेत रहेका सी जिनपिङ छन् । चीनको कम्युनिस्ट पार्टीले नै त्यहाँको सरकार चलाउँछ । पार्टीको महासचिव सबभन्दा बढी शक्तिशाली हुने हुँदा राज्य सञ्चालक अर्थात, राष्ट्रपति पनि उही व्यक्ति हुन्छ ।

सीले सन् २०१२ मा पहिलोपटक पार्टी र मुलुकको नेतृत्व सम्हालेका थिए । त्यसयता दोस्रोपटक सन् २०१८ मा पनि सी दुवै शक्तिशाली पदमा दोहोरिए । आफ्नो नेतृत्वमा चीनले विश्व शक्ति राष्ट्रहरूसँग प्रतिस्पर्धा गरेर आर्थिक र सैन्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेपछि लोकप्रिय बनेका सी तेस्रो पाँच वर्षे कार्यकाल पनि आफैं चलाउने मनस्थितिमा छन् । चिनियाँ सरकारी सञ्चार माध्यमहरूका अनुसार अहिलेसम्म उनको प्रतिद्वन्द्वीका रूपमा कोही दोस्रो व्यक्ति अगाडि सर्ने सम्भावना देखिएको छैन ।

त्यसका लागि पार्टीको विधानले तय गरेको उमेर हदको व्यवस्था सीले यसपटक बदलेर आफू अनुकुल बनाउने अनुमान गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो र स्थायी कमिटीलगायत उच्च पदमा रहनका लागि ६८ वर्षको उमेरहद राखिएको छ ।

उनले यसअघि सन् २०१७ मा सम्पन्न पार्टीको १९औं राष्ट्रिय महाधिवेशनबाटै नेतृत्व परिवर्तनका लागि दुई कार्यकाल अर्थात दश वर्ष समय र ६५ वर्षे उमेरहदको व्यवस्थालाई विधानबाट हटाइसकेका छन् । हाल पार्टीको उच्च तहमा रहनका लागि ६८ वर्षे उमेरहदसम्बन्धी व्यवस्था बाँकी नै छ, जुन लागू भएको खण्डमा ६९ वर्ष पुगेका महासचिव सीसहित पार्टीको स्थायी कमिटी र पोलिटब्यूरोमा रहेका अधिकांश नेताहरू नेतृत्वबाट बाहिरिने छन् । त्यसैले कम्तिमा सीका लागि मात्रै भए पनि उमेरहदसम्बन्धी व्यवस्थामा केही फेरबदल हुने निश्चित छ ।