सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

बारा । कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता छिन् ।

रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा थिइन् । जागीरे भए पनि उनी सन्तुष्ट थिइनन्, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उनी परीक्षाका लागि काठमाडौँ जाँदै थिइन् तर काठमाडौ नपुग्दै उनी त्रिशूलीमै बेपत्ता भइन् । योसँगै उनको परिवारको सपनासमेत त्यही अस्ताएको छ ।

सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौँ गएकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताए । दुई दिनदेखि दुर्घटनास्थलमा रहेका उनी भन्छन्, “छोरी काठमाडौँ गएको १० बजे राति कुरा गरेर बुबा म काठमाडौँ जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थि तर त्यअघि नै त्रिशूलीमा अस्ताइन् ।”

छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहेका छन् । “छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशूलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कार अनुसार दाहसंस्कार गर्न पाइयोस्”, उनको भनाइ छ ।