युरो उपाधि दौडमा स्पेन र इंग्ल्यान्डको महाभिडन्त

काठमाडौं । जारी युरो–२०२४ को उपाधिका लागि स्पेन र इंग्ल्यान्ड आमनेसामने हुने भएका छन् । गएराति भएको अन्तिम सेमिफाइनल खेलमा इंग्ल्यान्डले उत्कृष्ट पुनरागमनसहित नेदरल्यान्ड्सलाई हराउँदै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।

इंग्ल्यान्डले २–१ गोलअन्तरसहित युरो संस्करणमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । स्पेन भने यसअघि नै पूर्व विजेता फ्रान्सलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

गएरातिको अन्तिम सेमिफाइनल खेलमा इंग्यान्डविरुद्ध नेदरल्यान्ड्सले अग्रता लिएको थियो । खेलको सुरुआती समयमै लिएको अग्रता कायम गर्न नसक्दा जितको नजिक पुगेर पनि नेदरल्यान्ड बाहिरिन बाध्य बन्यो ।

नेदरल्यान्डका जाबी सिमोनले खेलको सातौं मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विपक्षीहरुबाट जोगाउँदै डी–बक्स एरिया बाहिरबाटै प्रहार गरेको लङ सट सिधै गोल पोस्ट चुमेको थियो । सिमोनको बलियो प्रहारलाई विपक्षी गोल रक्षकले रोक्न सकेनन् ।

तर, त्यो अग्रता गोलको खुसी धेरैबेर टिक्न सकेन । केही समयपछि इंग्ल्यान्डका बुकायो साकाले ड्रिबलिङ गर्दै प्रहार गरेको बल विपक्षी खेलाडीसँग ठोकिएर आएको रिबाउन्ड बल ह्यारी केनले सेन्टर प्रहार गरेका थिए । बल पोस्ट माथिबाट बाहिरिए पनि रोक्ने प्रयासमा नेदरल्यान्ड्सका खेलाडीबाट गल्ती हुन पुग्यो ।

भीएआर चेकका क्रममा डि–बक्स क्षेत्रभित्र गल्ती भएको देखिएपछि इंग्ल्यान्डले पेनाल्टी मौका पायो । कप्तानसमेत रहेका स्टार ह्यारी केनले त्यो अवसर गुमाएनन्, र गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले १८औं मिनेटमा गोल गरेका थिए ।

इंग्ल्यान्डका ह्यारी केनले युरोकपमा नेदरल्यान्ड्सविरुद्ध पेनाल्टी प्रहार गर्दै । ९ब्ए एजयतयरज्बककबल ब्mmबच०
त्यसबीचमा दुवै टिमले जित आफ्नो पोल्टामा पार्न निकै प्रयास गरे पनि सफल हुन सकेन । तर, खेलको ठीक ९०औं मिनेटमा इंग्ल्यान्डकै ओली वाट्किन्सले टिमका निर्णायक गोल गरे । उक्त अग्रतालाई पुनः फर्काउन नेदरल्यान्ड्सलाई २ मिनेट इन्जुरी टाइम पर्याप्त भएन र सेमिफाइनलबाटै बाहिरियो ।

युरोमा लगातार दोस्रो पटक फाइनल पुगे पनि ब्रिटिश टिम इंग्ल्यान्ड उपाधिविहीन छ । यसअघि सन् २०२० को युरो फाइनलमा इंग्ल्याण्ड इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

इतिहास बनाउने दुवै टिमको दाउ

लगातार दोस्रोपटक फाइनलमा पुगेको इंग्ल्यान्ड सन् २०२० मा पाएको चोट बिर्सिन चाहन्छ । अघिल्लो संस्करणको हारको बद्ला लिँदै युरो कप उचाल्न चाहन्छ ।

ग्रुप ‘सी’बाट फाइनलसम्म आएको इंल्यान्डले समूह चरणको खेलमा एक जित र २ ड्र खेलेको थियो । क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । निर्धारित समयमा खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई ५–३ ले हराएको थियो ।

त्यस्तै, ग्रुप ‘बी’ बाट फाइनलसम्म आइपुगेको स्पेन अपराजित छ । युरो खेलमा सन् २०१२ पछि फाइनल पुगेको स्पेन चौथो पटक उपाधि जित्ने दाउमा छ । स्पेनले यसअघि सन् १९६४ मा पहिलो पटक युरो कप जितेको थियो भने सन् २००८ र २०१२ मा मा लगातार युरो उपाधि जितेको थियो ।

स्पेनले क्वार्टफाइनलमा जर्मनीलाई पराजित गर्दैै सेमिफाइनल प्रवेश गरेको थियो । जर्मनीसँगको खेलमा स्पेनले २–१ को नतिजा निकालेको थियो भने सेमिफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । स्पेनले फ्रान्सलाई पनि २(१ ले नै पराजित गरेको थियो । स्पेनको जितमा महत्वपूर्ण गोल गरेका १६ वर्षीय लेमन यामल युरो इतिहासमै कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाउँदै चर्चामा छन् ।