अन्तर्राष्ट्रिय याक अट्याक साइकल दौड शुरु

पाथिभरा संवाददाता
लमजुङ– विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११औँ संस्करण आइतबारदेखि शुरु भएको छ ।
उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता बँेसीशहरबाट शुरु भएको हो । अघिल्लो वर्ष काठमाडाँैबाट शुरु भएको प्रतियोगिताको दशौँ र ११ औँ संस्करण ब“ेसीशहरबाट शुरु भएको हो । समुद्री सतहदेखि पाँच हजार ४१६ मि उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरी प्रतियोगिता शुरु भएको हो ।
दश दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपालसहित १० देशका ३१ प्रतियोगी सहभागी छन् । प्रतियोगितामा एक महिलासहित आठ नेपालीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताका विजेताले १२५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले ७५० डलर र तेस्रोले पाँच सय डलर पुरस्कार प्राप्त गर्नेछन् । पहिलो दिन प्रतियोगी मनाङको ताल पुग्नेछन् । मनाङको ताल हुँदै माथिल्लो मनाङ, पाँच हजार ४१६ मि उचाइको थोराङ्ला भञ्ज्याङ गरी मुक्तिनाथ, जोमसोमबाट पोखरा आएर प्रतियोगिता सम्पन्न हुनेछ ।
बेलायती फिल इभान्सको आयोजना र नेपालको यति ट्राभल्सको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताका लागि नेपालको उच्च हिमाली क्षेत्र उत्तम भएकाले प्रत्येक वर्ष नेपालमा प्रतियोगिता आयोजना गरिएको निर्देशक इभान्सले बताए ।
प्रतियोगिताबाट नेपालको पर्यटन प्रव्द्र्धनका लागि सहयोग पुग्ने इभान्सको भनाइ छ । पैदल यात्राका लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा साइकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यान केन्द्रित भएको उनले बताए ।