दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित

काठमाडौं (पास)– आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत दोस्रो खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित भएको छ ।

अफिस पार्कमा सामान्य लक्ष्यसहित ब्याटिङ गरेको ओमनले ३५.१ ओभरमा नेपालमाथि जित हात पारेको हो । ओमनका लागि अकिब इल्यासले ४६, बैभभ वाटगओन्करले ३७ र जतिन्दर सिंहले २४ रनको योगदान दिएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले पनि १–१ विकेट लिएपनि जित दिलाउन भने सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै ४६ ओभरमा सबै विकेटको क्षतिम १३८ रन मात्रै बनाउन सकेको थियो । नेपालका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । १० रन हुदा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ रनमा गुमाएको नेपालले एकपछि अर्को विकेट गिरेको थियो ।

१४ ओभरको समाप्तिमा ३८ रन हुँदा नेपालले ओपनर दिलिप नाथलाई १९ रनमा गुमाएको थियो । नेपालको ५३ रन हुदा आरिफ शेख आउट भएपछि दबाबमा खेलेको थियो । थप ३ रन जोड्दा अर्थात ५६ रनमा कप्तान पारस खड्कालाई १७ रनमा गुमाएको नेपाल पुरै दबाबमा आएको थियो ।

नेपालका लागि शरद भेषवाकरले २२, दिपेन्द्रसिंह ऐरीले २०, सोमपाल कामीले १७ र रोहित पौडेलले १४ रन जोडेका थिए ।

नेपालले अब आइतबार युएईसँग आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा गर्नेछ । ६ राष्ट्रको सहभागिता रहेको नेपालको लागि यो डिभिजन टु निकै महत्वपूर्ण रहेको छ । शीर्ष दुई स्थानमा पर्ने टिम विश्वकप छनोटमा प्रवेश गर्ने हुँदा पनि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ ।