प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीलाई

कास्की– गण्डकी प्रदेशस्तरीय ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । विसं २०६५ देखि लगातार कास्कीले सो उपाधि जित्दै आएको छ ।

यही असार २६ गतेदेखि शुरु भएको प्रतियोगितामा कास्कीले १९ स्वर्ण, १३ रजत र १० कास्यसहित ४२ पदक जितेर उपाधि चुमेको हो ।

एथलेटिक्समा १२ स्वर्ण, करातेमा दुई, उसुमा दुई र तेक्वान्दो, कबड्डी र भलिबलमा एक÷एक स्वर्ण कास्कीले जितेको हो ।

त्यसैगरी बाग्लुङले छ स्वर्ण, चार रजत र दुई कास्य गरी १२ पदक जितेर दोस्रो बन्यो । नवलपुरले पाँच स्वर्ण, छ रजत र तीन कास्यसहित तेस्रो भएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । प्रतियोगितामा प्रथमले ट्रफीसहित नगद रु २० हजार, द्वितीयले रु १५ हजार र तृतीय हुने जिल्लाले रु १० हजार र मेडल प्राप्त गरे ।

प्रतियोगितामा छात्र÷छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसु खेलमा प्रतिस्पर्धा भएको थियो ।

विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार वितरण गरेका थिए ।

पदक विजेता खेलाडीलाई सम्मान

गण्डकी प्रदेश सरकारले विसं २०७५ चैत २७ देखि २०७६ वैशाख ११ गतेसम्म प्रदेश नं ५ का विभिन्न स्थानमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूदमा गण्डकीबाट प्रथम, द्वितीय र तृतीय हुने खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

आज सरकारकातर्फबाट मुख्यमन्त्री गुरुङ र सामाजिक विकासमन्त्री पुन, राखेपका सदस्य–सचिव सिलवाल, सदस्य राजेशकुमार गुरुङलगायतले सम्मान गरेका हुन् । राष्ट्रिय खेलकूदमा गण्डकीले प्रथम १८, द्वितीय २५ र तृतीय ५० गरी ९३ पदक जितेको थियो ।

व्यक्तिगत प्रतिस्पर्धामा प्रथमलाई रु १० हजार, द्वितीयलाई रु सात हजार र तृतीयलाई रु पाँच हजार तथा समूह खेलबाट प्रथम, द्वितीय र तृतीयलाई रु सात हजार, पाँच हजार र तीन हजार नगदसहित सम्मान गरिएको थियो । टोली प्रशिक्षकलाई पनि प्रथम नगद रु पाँच हजार, द्वितीय रु तीन हजार र तृतीय रु दुई हजारसहित सम्मान गरियो ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रदेश सरकार खेलकूद मन्त्रालय र राखेपसँगको सहकार्यमा खेलकूदको विकासको लागि काम गर्न सदैव तत्पर रहेको बताए ।

राखेपका सदस्य–सचिव सिलवालले खेल पूर्वाधारको विकास गरेर पोखरालाई खेलकूद गतिविधिको अन्तर्राष्ट्रिय शहरको रुपमा विकास गर्ने योजना रहेको बताए । प्रदेश सरकारले खेलाडी सम्मानका लागि खेलकूद विकास समितिलाई रु ११ लाख ७८ हजार ८०० उपलव्ध गराएको थियो ।