साउदी अरेबियाका राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ

रियाद– साउदी अरेबियाका ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री र अरु पनि दर्जनौं पूर्व मन्त्री तथा प्रभावशाली व्यक्तित्वहरुलाई पक्राउ गरिएको समाचार छ ।
उनीहरुलाई किन नियन्त्रणमा लिइएको हो भन्ने कुरा अहिले नै प्रष्ट नभएको भए पनि साउदी अरेबियाको सरकारले शनिबारमात्र गठन गरेको भ्रष्टाचार हेर्ने निकायले उनीहरुलाई नियन्त्रणमा लिएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यसैले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई नै पक्राउ गरिएको अनुमान गरिएको छ । प्राप्त समाचारअनुसार यसरी पक्राउ पर्नेमा अरबपति राजकुमारहरु पनि परेका छन् ।
तर उनीहरुलाई राजकीय आदेशमार्फत नै पक्राउ गरिएकोले सरकारले नै भ्रष्टाचार विरोधीलाई कारबाही सुरु गरेको अनुमान सर्वत्र गरिएको छ ।
साउदी अरेबियाका युवराज मोहम्मद बीन सलमानको नेतृत्वमा शनिबार मात्र भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय गरिएको थियो । उक्त नयाँ निकाय गठन भएको केही घण्टामा नै ती युवराज र मन्त्रीहरुलाई नियन्त्रणमा लिइएको प्राप्त समाचारमा जनाइएको छ ।
नियन्त्रणमा लिइएका अधिकारीहरुलाई सार्वजनिक भने गरिएको छैन । उनीहरु सरकारी थुनामै रहेको पुष्टी सरकारी अधिकारीहरुले गरेका छन् ।
साउदी अरेबियामा सुधार कार्यक्रमको घोषणा केही दिनअघि गरिएको थियो । सो कार्यक्रमको नेतृत्व गरेका युवराज मोहम्मदले नै सो पक्राउको आदेश दिएका थिए । उनले शासनमा आफ्नो शक्ति बढाउनका लागि पनि यी कदमहरु चालेका हुनसक्ने अनुमान गरिएको छ ।
साउदी अरेबियाको सरकारी टेलिभिजन अल अरेबियाले उनीहरुलाई भ्रष्टाचारजन्य कार्यको दोषीका रुपमा पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकामध्ये सन् २००९ मा आएको बाढी र सन २०१२ मा साउदी अरेबियामा देखा परेको मर्स नामक भाइरसका समयमा उनीहरुले जारी राखेका गतिविधिका कारण उनीहरुमाथि अनुसन्धान हुनुपर्ने आवाज उठेको थियो ।
सोही आरोपमा नै उनीरुलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ । तर यस विषयमा उक्त आयोगले भने केही बताएको छैन ।
भ्रष्टाचारसम्बन्धी नयाँ आयोगलाई अनुसन्धकानको लागि सङ्कास्पद व्यक्तिलाई पक्राउ गर्न, त्यस्ता व्यक्तिलाई देशबाहिर जान नपाउनेगरी यात्रा प्रतिबन्ध लगाउन सक्नेगरी अधिकार दिइएको छ ।
साउदी अरेबियाको सरकारी समाचार समिति ’एसपीए’ले जनाएअनुसार यो अनुसन्धानको घेरामा अरु पनि कैयौँ उच्च ओहदाका सरकारी अधिकारीहरु रहेका छन् । उनीहरुलाई पनि पक्राउ आदेश आउनसक्ने सो समितिले जनाएको छ ।
एसपीएका अनुसार अरु पनि केही मन्त्री तथा अधिकारीलाई बर्खास्त गरिएको छ । त्यसमा राजकुमारहरु पनि परेका छन् । उनीहरुको पूर्ण विवरण दिइएको छैन ।
यहाँका सञ्चारमाध्यमहरुले उक्त आयोगको काम सरकारी सम्पत्तिको संरक्षण गर्ने र पदीय दायित्वमा रहेका व्यक्तिहरुबाट हुन पुगेको सार्वजनिक सम्पत्तिको दुरुपयोग वा भ्रष्टाचारका कारण भएको क्षतिका लागि उनीहरुलाई कारबाही गर्ने रहेको जनाएका छन् । एजेन्सी