उम्मेदवारहरु जनताका घर–घरमा

विराटनगर– मोरङमा उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

उम्मेदवार यतिखेर घरदैलो कार्यक्रममा जुटेका छन् । उनीहरू मतदाताको मनोभावलाई सम्झने प्रयासमा लागेका छन् । निर्वाचनलाई आफ्नो अनुकूल कसरी बनाउने र मतदातालाई कसरी आकर्षित पार्नेलगायतका विषयमा रणनीति बनाउनतर्फ उम्मेदवार केन्द्रीत भएका छन् ।

मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधि सभा सदस्यका लागि ६१ जना तथा १२ वटा प्रदेश सभा सदस्यका लागि १०८ उम्मेदवार चुनावी मैदानमा छन् । सवै क्षेत्रमा चुनावी प्रचारप्रसार शुरु भएको भए पनि यतिखेर क्षेत्र नं–६ बढी चर्चामा छ । क्षेत्र नं ६ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला र नेकपा(एमाले)का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित उम्मेदवार हुन् । यस क्षेत्रमा एक महिलासहित १० जना चुनावी मैदानमा छन् ।

पहिलोपल्ट संघीय संसद्मा प्रवेशका लागि एकीकृत राप्रपा(राष्ट्रवादी)बाट मुन्ना खान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दुखाराम माझी, राजपाबाट तवरेज अख्तर आलम, मंगोल नेशनल अर्गनाइजेशनबाट पानलाल माझी, नेमकिपाबाट सुरेन्द्रप्रसाद सापकोटा र नयाँ शक्ति पार्टीबाट विमला अर्याल उम्मेदवार बनेका छन् ।

त्यस्तै, संघीय समाजवादी फोरम, नेपालबाट राजेश्वर विश्वास र देशभक्त जनगणतान्त्रिक मोर्चाबाट मोहम्मद् बेचन मियाँ उम्मेदवार रहेका छन् । वाम गठबन्धनका उम्मेदवार पण्डित २०४८ सालमा मोरङबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने उनी २०५१ सालको निर्वाचन मोरङ क्षेत्र नं–३ बाट पराजित भएका थिए । कांग्रेस केन्द्रीय सदस्य डा कोइराला २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा क्षेत्र नं– ७ बाट पराजित भएका थिए । सो क्षेत्रबाट विजयी भएका विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं–३ बाट पनि निर्वाचित भएकाले उनले मोरङ–७ बाट राजीनामा गरे । त्यसपछि, मोरङ क्षेत्र नं–७ मा भएको उपनिर्वाचनमा डा कोइराला निर्वाचित भएका थिए ।

०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा डा कोइराला पुनः सोही क्षेत्रबाट भारी मतले विजयी भए । यस क्षेत्रमा विराटनगर महानगरपालिकाको ४, ५, ६, ७, ९, ११ र १२ गरी सातवटा वडा, बूढीगंगा गाउँपालिका र सुन्दरहरैचा नगरपालिकाको २, ३, ४, ५, ६ र ७ वडा पर्छन् ।

यस क्षेत्रमा ५६ हजार २५९ पुरुष र ५४ हजार ६२ महिला तथा एक तेस्रो लिंगी गरी एक लाख १० हजार ३२२ मतदाता छन् । विराटनगरको १९ वटा वडामध्ये सातवटा वडा मोरङको क्षेत्र नं–६ मा पर्दछ । ती सातवटा वडामा ५२ हजार ८८३, बूढीगंगामा २५ हजार ९२२ र सुन्दरहरैचाका ६ वटा वडामा ३१ हजार ५१७ मतदाता छन् ।